काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन कायम राख्दै बहुसांस्कृतिक र बहुजातीययुक्त देशमा धार्मिक विद्वेष फैलने खालका कुनै पनि आचरण र घृणाजन्य अभिव्यक्ति नदिन सबैमा आग्रह गरेका छन्।
गृह मन्त्रालयमा सोमबार नागरिक समाजका अगुवाहरूसँग भएको छलफलका क्रममा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरेका हुन्।
छलफलमा गृहमन्त्री अर्यालले नागरिक समाजका अगुवाहरूबाट समाजमा अहिले सामाजिक सञ्जालमाको माध्यमबाट फैलाउन खोजिएका विभिन्न धार्मिक अतिवादी र सोच चिर्न र समाजमा शान्ति र सद्भाव कायम राख्न नागरिक समाजको भूमिका महत्त्वपूर्ण रहने बताए।
छलफलमा अर्यालले आपसी सद्भाव खलबल्याउने र एक-अर्काको धर्ममा आँच पुर्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजले हातेमालो गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।