काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२१ पुष २०८२
टी-२० विश्वकपको ट्रफी टुरका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली टोलीका कप्तान रोहित पौडेल
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले टी-ट्वेन्टी विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन्। यो ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश फैलिएको पनि उनको धारणा छ।

राष्ट्रपति भवन शीतलनिवासमा सोमाबार आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहमा उनले यस्तो धारणा राखेका हुन्। “नेपाल आज खेलप्रेमी राष्ट्रका रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ। क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ‚” उनले भने। आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको उनको भनाइ थियो।

नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवं आत्मविश्वास अभिवृद्धि गरिदिएकामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति पौडेलले धन्यवाद व्यक्त गरे। “नेपालको क्रिकेटले अझ उचाइ हासिल गरोस्, हाम्रा खेलाडीले विश्वमञ्चमा देशको गौरव अझ उच्च बनाउँदै लैजान सफल होऊन् भन्ने शुभकामना व्यक्त गर्दछु‚” उनले भने।

राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्वकप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी-ट्वेन्टी विश्वकपमा सहभागी हुने नेपाली महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए।