काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२१ पुष २०८२
अ+
अ-

टीकापुर। कैलालीको जानकी गाउँपालिका ६ मा रहेको महेन्द्र शिशु माविमा आधुनिक पुस्तकालय सञ्चालनमा आएको छ।

ई-लाइब्रेरीसहितको पुस्तकालयमा १० हजारभन्दा बढी पुस्तक छन्। साहित्यकार दिवंगत गगनसिंह थापाको स्मृतिमा सञ्चालित ‘गगन फाउन्डेसन’को संयोजनमा आधुनिक पुस्तकालय स्थापना गरिएको हो। विद्यार्थी र शिक्षकको पठन-पाठन, अध्ययन-अध्यापनलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले पुस्तकालय सञ्चालनमा ल्याइएको हो।

पुस्तकालयलाई आधुनिक रूपमा व्यवस्थित गर्न नेपाल लाइब्रेरी फाउन्डेसनले प्राविधिक सहयोग गरेको हो। पुस्तकालय सञ्चालनका लागि शिक्षक तथा कर्मचारीलाई पुस्तकालय व्यवस्थापन, डिजिटल स्रोत प्रयोगसम्बन्धी तालिम प्रदान गरिएको छ।

पुस्तकालय निर्माणका लागि अफ्रिकाको युगान्डास्थित रुपारेलिया फाउन्डेसनले आर्थिक सहयोग गरेको हो। पुस्तकालयको उद्घाटन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बालबालिकाको भविष्य उज्यालो बनाउन पुस्तकालयले थप सहयोग पुग्ने बताए। “पुस्तकालयको प्रभावकारी सञ्चालनले बालबालिकाको भविष्य उज्यालो बनाउन मद्दत पुग्नेछ‚’ उनले भने।

कार्यक्रममा गगन फाउन्डेसनका संरक्षक हिक्मत थापाले आफूले अध्ययन गरेको विद्यालयमा पुस्तकालय स्थापना गर्न पाउँदा खुसी लागेको धारणा राखे। गगन फाउन्डेसनले रुपारेलिया फाउन्डेसन युगान्डा तथा नेपाल लाइब्रेरी फाउन्डेसनको सहयोगमा जानकी गाउँपालिका ९ मा रहेको अरुणोदय मावि खैरिफाँटा र टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माविमा पनि आधुनिक पुस्तकालय सञ्चालनमा ल्याइसकेको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गुरुप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान संकायका डिन विष्णुविलास अधिकारी, नेपाल लाइब्रेरी फाउन्डेसनका महासचिव धनकुमार श्रेष्ठ, पत्रकार भुवनेश्वर अधिकारी, प्रधानाध्यापक खगेन्द्रप्रसाद उपाध्यायलगायतको उपस्थिति थियो। कार्यक्रमको शिक्षक बमबहादुर धामीले सञ्चालन गरेका थिए।