काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

स्टक मार्केट

झन्डै साढे ६ खर्बको किनबेच‚ शिवम्‌को कारोबार उच्च

२१ पुष २०८२
अ+
अ-

काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार १०.२९ अंकले घटेको नेप्से आज (सोमबार) भने २८.७३ अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा १.१० प्रतिशतले बढेको नेप्से २‚६३९.३७ विन्दुमा अडियो।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ३.१७ अंकले बढेर ४५४.७९ विन्दुमा रोकिएको छ। हरियाली बनेको सेयर बजारमा सोमबार ३३५ कम्पनीको ८४ हजार ९९० पटकको कारोबारमा एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर किनबेच भए। जसमा आज ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ रुपैयाँको कारोबार भयो। अघिल्लो कारोबार दिन (आइतबार) को तुलनामा आज (सोमबार) कारोबार रकम पनि बढेको छ। हिजो (आइतबार) सेयर बजारमा पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आज १३ वटै समूहका सूचकमा हरियाली देखिए। जसअनुसार वाणिज्य बैंक समूहको ०.६७ प्रतिशत‚ विकास बैंक २.७०‚ फाइनान्स ०.८३‚ आज होटेल तथा पर्यटन २.५३‚ जलविद्युत् १.४४, लगानी १.२५‚ जीवन बिमा ०.४९, उत्पादन तथा प्रशोधन ३.०५‚ लघुवित्त ०.५३‚ म्युचुअल फन्ड ०.४३‚ निर्जीवन बिमा ०.५७‚ अन्य समूह ०.७३ प्रतिशत र व्यापार समूह ०.२२ अंकले बढे। नेप्सेमा सोमबार २१४ कम्पनीको मूल्य बढ्दा ३७ वटाको मात्र घट्यो। आठ कम्पनीका सेयरमूल्य भने स्थिर रहे।

हरियाली बनेको सेयर बजारमा सोमबार पाँचवटा कम्पनीका मूल्यमा सकारात्मक सर्किट लाग्यो अर्थात् १० प्रतिशतले बढे। सकारात्मक सर्किट लाग्ने कम्पनीमा सागर डिस्टलरी‚ एसवाई प्यानल नेपाल‚श्रीनगर एग्रिटेक‚ बन्दिपुर केबलकार र रुरु जलविद्युत् परियोजना छन्। सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्डको डिबेन्चर २.४९ प्रतिशतले ओरालो लाग्यो। जसको अन्तिम कारोबार मूल्य १‚१८० रुपैयाँ कायम रह्यो।

आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको सेयर कारोबार भयो। आज यसको ३८ करोड ६९ लाख ५० हजार ३४७ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ६२९ रुपैयाँ कायम रह्यो।