काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२१ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा प्युठान नगरपालिका ९ घर भई दाङको राप्ती गाउँपालिका बस्ने ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रेका ४० वर्षीय आइते तामाङ र काठमाडौँ महानगरपालिका १५ बस्ने ३४ वर्षीय विजय गुरुङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

“पक्राउ परेकामध्ये इन्द्र र आइतेले यूके पठाइदिने भन्दै सातजनाबाट १३ लाख र विजयले यूके पठाइदिने भन्दै एक जनाबाट पाँच लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो‚” आचार्यले भने।

पक्राउ परेकामध्ये इन्द्र र आइतेलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ तथा विजयलाई वैदशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताए।