काठमाडौं । भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाउने निर्णय गरेसँगै अमेरिका–भेनेजुएला तनाव चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोड्रिगेजलाई अमेरिकाको अपेक्षाअनुसार काम नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
‘द एटलान्टिक’ लाई दिएको अन्तर्वार्तामा ट्रम्पले रोड्रिगेजको अवस्था मादुरोभन्दा पनि खराब हुन सक्ने बताएका हुन्। उनले रोड्रिगेजले सहयोग गरेमा भेनेजुएलामा अमेरिकी सेना पठाउनुपर्ने अवस्था नआउने पनि बताएका छन्।
यसैबीच, रोड्रिगेजले अमेरिकाले नियन्त्रणमा लिएका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई तत्काल रिहा गर्न माग गरेकी छन्। उनले मादुरो नै भेनेजुएलाको वैध राष्ट्रपति भएको दाबी गर्दै गिरफ्तारीलाई ‘अपहरण’ भनेकी छन्।
अमेरिकाले भेनेजुएलाका लागि विशेष टोली गठन गरेको जनाएको छ, जसले शान्ति सुरक्षा, सरकारी संरचना र ऊर्जा क्षेत्र स्थिर बनाउने काम गर्ने बताइएको छ।
३ जनवरीको राति अमेरिकी सेनाले मादुरो दम्पतीलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको थियो। उनीहरूमाथि हतियार र लागुऔषध तस्करीसम्बन्धी मुद्दा चलाइने जनाइएको छ। (एजेन्सी)




