विराटनगर। कोसी प्रदेश सरकारका नवनियुक्त १० मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख खापुङले र राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कार्कीले शपथ गराए। नयाँ समीकरणअनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) बाट ५-५ जना (राज्यमन्त्रीसहित) मन्त्रीमण्डलमा थपिएका छन्।
कांग्रेसबाट प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार, भीम पराजुलीले पर्यटन, मानबहादुर लिम्बूले स्वास्थ्य र इस्राइल मन्सुरीले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन्। यस्तै, शोभा चेम्जोङलाई भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
यसैगरी एमालेका तर्फबाट तिलचन पाठकले खानेपानी, इन्द्रमणि पराजुलीले आन्तरिक मामिला, विदुरकुमार लिंथेपले आर्थिक मामिला र रामप्रसाद महतोले सामाजिक विकासमन्त्रीका रूपमा शपथ लिएका छन्। एमालेबाटै उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त भएका छन्। मन्त्रिपरिषद् विस्तारसँगै कोसी प्रदेश सरकार अब मुख्यमन्त्रीसहित ११ सदस्यीय बनेको छ।