काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२२ पुष २०८२
अ+
अ-

क्वालालम्पुर। मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल भर्ना भएका छन्। सय वर्ष नाघेका महाथिरको दाहिने ‘हिप’ भाँचिएको उनका सहयोगीले जानकारी दिएका छन्।

सहयोगी सुफी युसोफका अनुसार महाथिरलाई मंगलबार बिहान होसमै क्वालालम्पुरस्थित नेसनल हार्ट इन्स्टिच्युटमा एम्बुलेन्समार्फत लगिएको थियो। प्रारम्भिक चिकित्सकीय परीक्षणपछि उनको दाहिने खुट्टामा हिप भाँचिएको पुष्टि गरिएको सुफीले बताए।

उनका अनुसार उपचार र चिकित्सकीय निगरानीका लागि महाथिर आगामी केही साता अस्पतालमै रहने अपेक्षा गरिएको छ। निवासमा रहेको बैठक कोठातर्फ जाने क्रममा महाथिर लडेका हुन्।

महाथिरले पछिल्ला वर्षमा विभिन्न स्वास्थ्य समस्या भोग्दै आएका छन्। गत जुलाईमा आफ्नो शताब्दी पूरा भएको अवसरमा आयोजित पार्टीमा अत्यधिक थकानका कारण पनि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो। यसअघि उनले मुटुसम्बन्धी समस्याका कारण बाइपास शल्यक्रिया पनि गराएका थिए।

घटनापछि मलेसियाका वर्तमान प्रधानमन्त्री अनवर इब्राहिम र उनकी पत्नी वान अजिजा वान इस्माइलले महाथिरको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

मलेसियाको राजनीतिमा दीर्घकालीन प्रभाव राख्ने नेताका रूपमा महाथिरलाई चिनिन्छ। उनले सन् १९८१ देखि २००३ सम्म र फेरि २०१८ देखि २०२० सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। दोस्रो कार्यकालमा ९४ वर्षको उमेरमा उनी विश्वकै सबैभन्दा वृद्ध निर्वाचित सरकार प्रमुख बनेका थिए।