काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२२ पुष २०८२
निर्वाचन आयोग। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। चार राजनीतिक दलले राष्ट्रिय सभामा रिक्त १८ सिटका लागि भागबन्डा गरेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीले १८ सिट बाँडफाँट गर्ने सहमति गरेका हुन्। जसअनुसार कांग्रेसले ७, एमालेले ७, नेपाली कम्युनिस्ट पार्टीले तीन र जनता समाजवादी पार्टीले एक सिट पाउनेछन्।

यी चारवटै पार्टीबीच भएको छलफलपछि सिट बाँडफाँटमा सहमति भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले नेपालन्युजलाई जानकारी दिए। ठुलो दल नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सिट बाँडफाँटबारे केन्द्रीय कार्यसम्पादन समितिमा छलफल गरिरहेका छन्। उनले केन्द्रीय कार्यसम्पादन समितिमा बाँडफाँटको सहमति पेस गरी अनुमोदन गराउने प्रयास गरिरहेका छन्। अहिले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको छ।

राष्ट्रिय सभामा १८ वटा सिट संख्याको निर्वाचन कार्यतालिकाअनुसार मंगलबारै मनोनयन गराउनुपर्नेछ। राष्ट्रिय सभा निर्वाचनको कार्यतालिकाअनुसार २३ पुसमा मनोनयन दर्ता, २४ मा उम्मेदवारविरुद्ध उजुरी, २७ पुसमा उम्मेदवारी फिर्ता गर्ने समय छ। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ।

२८ पुसमा निर्वाचन अधिकृतले उम्मेदवारलाई निर्वाचन चिह्न दिनेछन्। ११ माघमा मतदान हुनेछ। राष्ट्रिय सभामा २० फागुनमा १८ सिट रिक्त हुँदै छन्। रिक्त हुनुभन्दा एक महिनाअगाडि नै निर्वाचन गर्नुपर्ने व्यवस्था छ।