काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२२ पुष २०८२
अ+
अ-

काठमाडौँ। प्रहरीले सिरहामा एक महिनाअघि भएको किशोरी हत्या प्रकरण सुल्झ्याएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), मधेस प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलीले २१ मंसिरमा भएको किशोरी हत्या प्रकरण किनारा लगाएको हो। मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापाका अनुसार २१ मंसिरको राति कर्जन्हा नगरपालिका १ की १७ वर्षीया अविना वैद्यको हत्या भएको थियो। कर्जन्हा नगरपालिका २‚ स्कुल टोलस्थित कमला सिँचाइ नहरबाट करिब २० मिटर उत्तरको झाडीमा उनको शव भेटिएको थियो।

थापाका अनुसार अविनाको हत्यामा धनुषा क्षीरेश्वर नगरपालिका ३ का ४५ वर्षीय रामबालक चौधरी पक्राउ परेका छन्। हत्यापछि केन्द्रीय अनुसन्धान ब्युरोसहितका प्रहरी कार्यालय अनुसन्धानमा जुटेका थिए।

अनुसन्धान अनुसार चौधरीले यो दिन साँझ ५ बजे गणेशमान चारनाथ नगरपालिका ७‚ पोर्ताहाको एउटा होटेलमा मादक पदार्थ सेवन गरेका थिए। सेवनपछि उनले पटक-पटक अविनालाई फोन गरे। चौधरी पोर्ताहामा डेरा गरी बस्दै आएका थिए। उनी श्रीमतीसँग छुट्टिएर बसेका थिए।

फोन गरेपछि चौधरीको डेरामा राति सवा ९ बजे अविन आइपुगेकी थिइन्। चौधरीले कोठाबाट कमला नदीकिनार हुँदै नहरछेऊ पुर्‍याए। त्यहाँ दुवैबीच सहमतिमा यौनसम्बन्ध भएको थियो।

“अविनालाई चौधरीले पहिलेदेखि नै विवाहको प्रस्ताव राख्ने गरेका थिए,” सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पाल भन्छन्। नमानेपछि अविनासँग चौधरी बेलाबेला झगडा गर्ने गर्थे।

नसाको सुरमा चौधरीले अविनाको घाँटी थिचेका थिए। घाँटी थिचेपछि दाहिने गालामा ढुंगा प्रहार गरे। उनी बेहोस् भइन्। “बेहोस भएपछि चौधरीले बोकेर नजिकैको झाडीमा पुर्‍याए,” पाल भन्छन्, “त्यहाँ लगेर ढुंगाले अनुहारमा प्रहार गरी हत्या गरे।” अविनाको हत्यापछि चौधरी नहरको बाटो हुँदै आफ्नै कोठामा गएर बसेका थिए।

कर्जन्हा र पोर्ताहा कमला नदीको वारिपारि हो। वारिपारि हिँडडुलको सिलसिलामा अविनासँग चौधरीको चिनजान भएको थियो। चिनजानका क्रममा उनीहरूबीच आपसी सम्बन्ध स्थापित हुँदै हत्यासम्म पुगेको देखिएको पालले बताए।

चौधरी शंकास्पद देखिएपछि प्रहरीले घटनाको तेस्रो दिनमा पक्राउ गरेको थियो। सबै प्रमाण नजुट्दा उनलाई तारेखमा छाडिएको थियो। चौधरीका साथै प्रहरीले तीन दर्जन व्यक्ति नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। एक महिनाको अनुसन्धानमा प्रहरीले चौधरीको एकल संलग्नता पत्ता लगाएको हो। चौधरीलाई कर्तव्य ज्यानमुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।