जनकपुर। प्रदेशमा कार्यान्वयन गर्न नसकिने योजनाहरूको सूची एक साताभित्र पेस गर्न मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री श्याम पटेलले निर्देशन दिएका छन्।
कृषि विकास निर्देशनालय जनकपुरले आयोजना गरेको कार्यक्रममा उनले प्रदेशका आठवटै जिल्लाका कृषि ज्ञान केन्द्र प्रमुखहरुलाई आ-आफ्नो जिल्लामा यो वर्ष सञ्चालन गर्न नसकिने योजनाको सूची पठाउन निर्देशन दिएका हुन्।
उनका अनुसार गत आवमा सबैभन्दा कमजोर प्रगति कृषि मन्त्रालयको देखिएको थियो। “त्यसैले यो वर्ष पहिला नै कुन-कुन योजना सञ्चालन गर्न सकिँदैन, कानुनका कारण कुन-कुन योजना सुरु गर्दा अप्ठ्यारो हुन्छ ? त्यसको बेग्लै सूची बनाउनुहोला,” मन्त्री पटेलको निर्देशन छ।
जवाफमा ज्ञान केन्द्रका प्रमुखहरूले जिल्लामा दरबन्दीअनुसार कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको गुनासो सुनाएका थिए।