काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

राजनीति

९३ सांसदमध्ये आधाले पाइसके मन्त्री बन्ने अवसर

२२ पुष २०८२
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको मन्त्रिपरिषद्‌
अ+
अ-

विराटनगर। कोसी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको तीन वर्ष पुग्दा सत्ता समीकरणको फेरबदल तथा मन्त्रिपरिषद् विस्तार र पुनर्गठनको शृंखला अविराम चलिरहेको छ। ९३ सदस्यीय प्रदेशसभामा यस अवधिमा ६ वटा सरकार गठन भएका छन् भने मन्त्रिपरिषद् पुनर्गठन र विस्तार १७ पटक भएको छ।

प्रदेशको दोस्रो कार्यकालमा पहिलो सरकार गठन भएको २५ पुस २०७९ देखि मंगलबार (२२ पुस) भएको मन्त्रिमण्डल हेरफेरसम्म आइपुग्दा हालसम्म प्रदेशसभाका ४४ सांसदले मन्त्री बन्ने अवसर पाइसकेका छन्। तीमध्ये कतिपय पटक पटक मन्त्री भएका छन्।

प्रदेशमा सबैभन्दा धेरै सांसदलाई मन्त्री बनाउने दल नेकपा (एमाले) बनेको छ। एमालेबाट तीन पटक मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले आफ्नो कार्यकालमा विभिन्न चरणमा ३८ जनालाई मन्त्री बनाए। यस्तै, नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका उद्धव थापा र केदार कार्कीले आफ्नो पालोमा १०/१० जनालाई मन्त्री बनाए।

कार्की नेतृत्वको मन्त्रिपरिषद् पाँचौँ पटक विस्तार

कोसी प्रदेश सरकार मंगलबार पुनर्गठन गरिएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचौँ पटक सरकार पुनर्गठनका क्रममा एमाले र कांग्रेसका पाँच–पाँच नयाँ अनुहार भित्र्याएका हुन्।

कोसीमा २८ भदौ २०८१ देखि सत्ता गठबन्धनमा रहेका एमाले र कांग्रेसले एक वर्षपछि मन्त्री हेरफेर गर्ने समझदारीअनुसार पुराना अनुहार फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गरिएको हो। मुख्यमन्त्री कार्कीले कांग्रेसबाट चार मन्त्री र एक राज्यमन्त्री तथा एमालेबाट पनि चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन्।

कांग्रेसबाट प्रदीपकुमार सुनुवार (भौतिक पूर्वाधार), मानबहादुर लिम्बू (स्वास्थ्य), इस्राइल मन्सुरी (उद्योग, कृषि तथा सहरी मन्त्रालय) र भीम पराजुली (पर्यटन तथा वन वातावरण) मन्त्री बनेका छन्। यस्तै, शोभा चेम्जोङ भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त भएकी छन्।

कोसीका नवनियुक्त मन्त्रीहरूले २२ पुसमा सपथ ग्रहण गरेका छन्

एमालेबाट विदुर लिङथेप (आर्थिक मामिला तथा योजना), चिन्तन पाठक (खानेपानी, सिँचाइ तथा ऊर्जा), इन्द्रमणि पराजुली (आन्तरिक मामिला तथा कानुन), रामकुमार महतो (सामाजिक विकास) मन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका छन्। नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले मंगलबार साँझ नै सपथ लिएका छन्।

को कति पटक मन्त्री?

सत्ता समीकरण विभिन्न समयमा हेरफेर हुँदा केही सांसदले पटक पटक मन्त्री बन्ने अवसर पाएका छन्। मुख्यमन्त्री कार्की स्वयं तीनपटक सोही पदमा दोहोरिएका छन् भने उद्धव थापा दुईपटक र केदार कार्की एकपटक मुख्यमन्त्री बने।

सबैभन्दा धेरैपटक मन्त्री पदमा पुग्ने अवसर कांग्रेसका प्रदीपकुमार सुनुवारले पाएको देखिन्छ। उनी चारपटक मन्त्री भए। तत्कालीन नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगू र नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की तीन-तीनपटक मन्त्री भए। दुईपटक मन्त्री हुने ११ जना छन्। एमालेबाट तिलकुमार मेन्याङ्बो, बुद्धिकुमार राजभण्डारी, पाँचकर्ण राई, एकराज कार्की, लीलाबल्लभ अधिकारी, रामबहादुर मगर दुईपटक मन्त्री भए। त्यस्तै, नेकपाका जीवन आचार्य, गणेशप्रसाद उप्रेती, नारायणबहादुर मगर, कांग्रेसका रामकुमार खत्री र जनता समाजवादी पार्टी (जसपा)की निर्मला लिम्बू पनि दुईपटक मन्त्री भइसकेका छन्।

कांग्रेसका शमशेर राई, नेकपाका बाबुराम गौतम, दुर्गाप्रसाद चापागाईं र राप्रपाका भक्तिप्रसाद सिटौला एक–एकपटक मन्त्री बने। राज्यमन्त्रीहरूमा एमालेकी सिर्जना राईले दुईपटक अवसर पाउँदा कांग्रेसकी इन्दिरा थापा, सुनिताकुमारी गुरुङ, गयानन्द मण्डल, एमालेका रामप्रसाद महतो, निरन राई र नेपाली कम्युनिस्ट पार्टीकी वन्दना झाँगर एकपटक मन्त्री बनेका छन्।

१७ पटक सरकार विस्तार र पुनर्गठनको फेहरिस्त

प्रदेश सरकारको दोस्रो कार्यकालमा २५ पुस २०७९ मा पहिलोपटक मुख्यमन्त्री बन्दा एमालेका हिक्मतकुमार कार्कीले तिलकुमार मेन्याङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बूलाई मन्त्री बनाएका थिए। त्यसको चार दिनपछि २९ पुसमा मन्त्रिमण्डल विस्तार गरिँदा दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारी थपिए।

त्यसपछि २२ असार २०८० मा मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाले सोही दिन कमलप्रसाद जबेगू र प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका थिए। दुई दिनपछि २४ असारमा जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्री मन्त्रिपरिषद्‌मा थपिए। सर्वोच्च अदालतको आदेशपछि १७ साउनमा थापाकै नेतृत्वमा बनेको सरकारमा बाबुराम गौतम, प्रदीप सुनुवार र कमल जबेगू मन्त्री बने। २६ साउनमा निर्मला लिम्बू र ३१ साउनमा गयानन्द मण्डललाई थपेर थापाले सरकार विस्तार गरे पनि अदालतको परमादेशले उक्त सरकार ढल्यो।

२२ भदौ २०८० मा हिक्मतकुमार कार्की फेरि मुख्यमन्त्री बने। उनले तिलकुमार मेन्याङ्बो, पाँचकर्ण राई, एकराज कार्की र सिर्जना राईलाई मन्त्री नियुक्त गरे। ८ असोजमा लीलाबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी, रामप्रसाद महतो र निरन राई थपिए।

त्यही वर्षको २८ असोजमा केदार कार्की मुख्यमन्त्री बने। उनले सोही दिन रामबहादुर मगर र शमशेर राईलाई मन्त्री नियुक्त गरे। १७ कात्तिकमा गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगू थपिए। २६ माघमा प्रदीपकुमार सुनुवार, राजेन्द्र कार्की, रामकुमार खत्री, नारायणबहादुर मगर, इन्दिरा थापा र सुनिताकुमारी गुरुङलाई समेटेर कार्कीले मन्त्रिमण्डल १० सदस्यीय बनाएका थिए।

२७ वैशाख २०८१ मा हिक्मतकुमार कार्की फेरि मुख्यमन्त्री बने। उनले त्यसै दिन गणेशप्रसाद उप्रेती र रामबहादुर मगरलाई मन्त्री नियुक्त गरे। ४ जेठमा मन्त्रिपरिषद् विस्तार गरिँदा राजेन्द्र कार्की, पाँचकर्ण राई, एकराज कार्की, नारायणबहादुर मगर, लीलाबल्लभ अधिकारी, सिर्जना राई र वन्दना झाँगर थपिए। २८ भदौ २०८१ मा एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएपछि भूपेन्द्र राई, खगेनसिंह हाङ्गाम, सदानन्द मण्डल र भूमिप्रसाद राजवंशी मन्त्री बने। गैरकानुनी जापान भ्रमणका कारण १७ मंसिर २०८१ मा लीलाबल्लभ अधिकारीले मन्त्रीबाट राजीनामा दिएपछि रिक्त स्थानमा रेवतीरमण भण्डारी नियुक्त भएका थिए।