काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौको जेनजी आन्दोलनको घटना छानबिन गर्न गठित आयोगलाई दिएको जवाफको मुख्य बुँदा पार्टी सचिव महेश बस्नेतले सार्वजनिक गरेका छन्।
आइतबार ओलीसँग बयान लिन आयोगको टोली गुण्डुस्थित उनकै निवास पुगेको थियो।
आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाले नै स्वीकार गरिसकेका र आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको ओलीले आयोगसमक्ष जवाफ दिएका छन्।
उक्त टोलीलाई ओलीले दिएका बयानका केही अंश भन्दै मंगलबार पार्टी सचिव महेश बस्नेतले फेसबुकमा सार्वजनिक गरेका हुन्। ओलीले दिएको जबाफका मुख्य बुँदाहरू भन्दै उनले ६ बुँदा सार्वजनिक गरेका हुन्।
पहिलो बुँदा, २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको।
दोस्रो, आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेका।
तेस्रो, आन्दोलन गर्ने अधिकांश व्यक्ति जेन–जी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको।
चौथो, २३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय।
पाँचौं, २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको।
छैठौं, गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका।