काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२२ पुष २०८२
अ+
अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले आपसी द्वन्द्व र वैमनस्यता त्यागेर शान्ति, सद्भाव र सहिष्णुताको बाटो रोज्न देशवासीमा अपिल गरेका छन्।

मुलुकका केही भूभागमा पछिल्ला दिनमा सम्प्रदायबीच उत्पन्न असमझदारी, वैमनस्यता र द्वन्द्वले नेपालीको साझा सामाजिक सद्भावलाई चुनौती दिएको भन्दै उनले यस्तो दुःखद घटनाले सबैलाई गम्भीर रूपमा चिन्तित बनाएको बताए। उपराष्ट्रपति यादवले मंगलबार एक अपिल सार्वजनिक गर्दै बताएका हुन्।

“म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक आग्रह गर्दछु कि आपसी द्वन्द्व र वैमनस्यता त्यागी शान्ति, सद्भाव र सहिष्णुताको बाटो रोजौं। धार्मिक वा सांस्कृतिक भिन्नतालाई विभाजनको कारण नभई समृद्ध विविधताको धरोहरका रूपमा स्वीकार गरौं। कुनै पनि अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा संलग्न नहुनुहोस्‚ बरु संवाद, मेलमिलाप, भाइचारा, अपनत्वभाव र सहयोगलाई प्राथमिकता दिनुहोस्‚” उपराष्ट्रपति यादवले अपिलमा भनेका छन्‚ “नेपालको संविधानले हाम्रो राष्ट्रलाई धर्मनिरपेक्ष, समावेशी र विविधतापूर्ण समाजको रूपमा परिभाषित गरेको छ। यस संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालन गर्ने स्वतन्त्रता सुनिश्चित गरेको छ। हाम्रो मुलुकको शक्ति नै विविधता, सहिष्णुता र परस्पर सम्मानमा निहित छ। जुनसुकै धर्म मान्ने सम्प्रदाय, समुदाय, समाज र नेपाली नागरिकहरू सबै एउटै राष्ट्रिय परिवारका सदस्य हौं। हाम्रो भाइचाराको सम्बन्ध, सह-अस्तित्व र परस्पर विश्वास नै हाम्रो पहिचान हो, जसलाई अक्षुण्ण राख्नु हामी सबैको साझा कर्तव्य हो।”

उनले स्थानीय प्रशासन, धार्मिक अगुवाजन तथा नागरिक समाजलाई मिलेर सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाहको आग्रह पनि गरेका छन्। उनले अपिलमा भनेका छन्‚ “हाम्रो साझा लक्ष्य भनेको एकताबद्ध, शान्तिपूर्ण र समावेशी नेपाल निर्माण गर्नु हो। यस मार्गमा कुनै पनि प्रकारको द्वन्द्व वा वैमनस्यताको स्थान छैन।”

उनले नेपाल साझा फुलबारी रहेकाले यसलाई सुन्दर, मनमोहक, सुरक्षित, सम्मानजनक र प्रेमपूर्ण बनाउन सबैको समान जिम्मेवारी, दायित्व र कर्तव्य रहेको बताएका छन्। “यसमा किंचित पनि विचलित नभई मुलुकको समुन्नत र दिगो विकासका लागि हामी सबै दृढसंकल्पका साथ अगाडि बढ्नुपर्छ‚” उपराष्ट्रपति यादवले सार्वजनिक अपिलमार्फत भनेका छन्।

उनले नेपाल शान्तिदूत गौतम बुद्धको भूमि, जनकको कर्मभूमि र ज्ञान केन्द्र रहेको भन्दै सबै शान्तिप्रिय नेपालका नागरिकले आफ्नो मौलिकता र पहिचानलाई कायम राख्नुपर्नेमा जोड दिएका छन्। “हाम्रो विविधता नै हाम्रो शक्ति हो, हाम्रो सहिष्णुता नै हाम्रो गौरव हो र हाम्रो एकता नै हाम्रो भविष्य हो‚” उनको अपिलमा भनिएको छ।

उपराष्ट्रपति यादवले अहिले मुलुकको अवस्था संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई शान्ति, संयम, सहिष्णुता र सद्भाव कायम राख्दै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न जिम्मेवार भूमिका निर्वाह अपिल गरेका छन्।