काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

समायोजन प्रक्रिया नटुंगिएकाले नेतृत्व सहभागी नभएको प्रस्टोक्ति

२२ पुष २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार आयोजना गरेको बृहत् राजनीतिक समायोजन घोषणासभाको मञ्चमा दायाँ-बायाँ सभापति रवि लामिछानेको तस्बिरअंकित ठूला ठूला पोस्टर राखिएको थियो।

सभापति लामिछाने, उपसभापति डीपी अर्याल, स्वर्णिम वाग्लेसहित अधिकांश नेता देखिएको मञ्चमा हालै पार्टीमा समायोजन भएका बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ भने देखिएनन्।

नागरिक उन्मुक्ति पार्टीका नेताहरू, थरुहट तथा थारुवानका अभियन्ताहरू रास्वपामा समायोजन हुने कार्यक्रममा हालै एकता गरेर रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बनेका बालेन र वरिष्ठ उपसभापति घिसिङ किन आएनन्? जिज्ञासा स्वाभाविक थियो।

१३ पुसमा बालेन पक्ष र रास्वपाबीच एकताको सम्झौता भएको थियो। त्यस्तै १४ पुसमा रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता सम्झौता भएको थियो। आइतबार रास्वपाको केन्द्रीय समिति बैठकले बालेनसहित उनको समूहका २६ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो।

त्यस्तै विवेकशील साझा पार्टीबाट आएका सातजनालाई पनि सोही दिन केन्द्रीय सदस्य मनोनीत गरेको थियो तर उज्यालो नेपालबाट भने केन्द्रीय सदस्यमा मनोनीत गरिएको छैन। त्यसो त बालेन र घिसिङले पनि पदाधिकारीको सपथ लिनै बाँकी छ।

बालेनपक्षबाट रास्वपाको केन्द्रीय सदस्यमा मनोनीत भुपदेव शाह बालेनले काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिइनसकेका कारण सोमबारको बृहत् राजनीतिक समायोजन घोषणासभामा उपस्थित नभएको बताउँछन्। सोमबारको कार्यक्रम मधेसका विभिन्न जिल्लाका अभियन्ता तथा दलका मान्छेहरूको पार्टी प्रवेश कार्यक्रम मात्र रहेको बताउँदै शाह भन्छन्, “हामी पनि समायोजन प्रक्रियामै रहेकाले पार्टी कार्यालयमै थियौँ। बालेन उपस्थित नहुने अरू कारण केही पनि छैन।”

यस्तै सोमबारको समायोजन घोषणासभा रास्वपाको पूर्वनिर्धारित कार्यक्रम भएकाले घिसिङ उपस्थिति नभएको एकतापूर्वको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य महेन्द्रसुन्दर लावती बताउँछन्। उज्यालो नेपालबाट केन्द्रीय सदस्य मनोनीत नभइसकेको र समायोजन प्रक्रिया जारी नै रहेकाले पनि कार्यक्रममा उपस्थिति नहुनु सामान्य भएको लावतीको भनाइ छ। भन्छन्, “हाम्रो सबै कुरा फाइनल हुन बाँकी नै छ। सबै प्रक्रिया पूरा भएपछि न सबै कार्यक्रममा सहभागी हुने हो।”

लावतीका अनुसार उज्यालो नेपालबाट २१ देखि २६ जना केन्द्रीय सदस्य रास्वपामा मनोनीत हुने सहमति भएको छ। पार्टीमा बृहत् छलफलबिनै घिसिङले एकाएक रास्वपामा समायोजन गराएपछि उज्यालो नेपालभित्र असन्तुष्टि देखापरेको थियो। तर पछिल्लो समय धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता, समानुपातिक समावेशीताजस्ता मुद्दा रास्वपाले आत्मसात गर्ने सहमति भएपछि असन्तुष्टि साम्य भएको लावती बताउँछन्। भन्छन्, “सुरुमा असन्तुष्टि देखिँदा असर पर्ने हो कि जस्तो भएको थियो तर मुद्दा आत्मसात गर्ने भएपछि अहिले सहज भएको छ।”

उज्यालो नेपालले देशव्यापी रूपमा संगठन विस्तार गरिरहेका बेला कुलमानलाई जेन–जी अभियन्ताहरूले छलफलका लागि लिएर गएका थिए। छलफलपछि घिसिङले पार्टीलाई रास्वपामा समायोजन गर्ने सम्झौता गरेका थिए।