काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

२३ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाल आयल निगम लिमिटेडको ५६औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। निगमले केन्द्रीय कार्यालय बबरमहलमा आज (बुधबार) गरेको कार्यक्रममा १६७ जनाले रक्तदान गरे।

रक्तदानमा निगमका कर्मचारी‚ कर्मचारीका परिवार‚ बबरमहल क्षेत्रका अन्य कार्यालयका कर्मचारी तथा निगम सम्बद्ध सहभागी बने। प्रत्येक रक्तदातालाई निगमका तर्फबाट प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।

उनका अनुसार निगमले आफ्नो व्यावसायिक जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यलाई निरन्तरता दिँदै आएको छ।

कार्यक्रममा निगम सञ्चालक समिति अध्यक्ष रामप्रसाद घिमिरेले रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले यस्ता कार्यक्रम निरन्तर भइरहनुपर्नेमा जोड दिए। उनले भने‚ “निगमले यस प्रकारको रक्तदान कार्यक्रम नियमित गर्दै जाओस् भनी शुभकामना दिन चाहन्छु।”

कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए। रक्तदान कार्यक्रमका संयोजक नागेन्द्र साहले समय-समयमा देखिने गरेको रगतको अभाव कम गर्न सबै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्न आग्रह गरे। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र भृकुटीमण्डपका तर्फबाट सन्देश थापाले निगमका कार्यकारी निर्देशक भट्टलाई प्रशंसापत्र हस्तान्तरण गरेको पनि प्रवक्ता ठाकुरले जानकारी दिए।