काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

२३ पुष २०८२
नन्मदर्ता नभएका विवेक र बिविका । तस्बिरःरासस
अ+
अ-

सर्लाही। जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लागे। लाउलाउँ खाउखाउँ उमेरका उनी अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुन्।

बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उनको दैनिकी बनेको छ । पचहत्तर वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी हजुरआमा फूलमाया र १५ वर्षकी बहिनी बिविकाको जिम्मेवारी एक्ला नाबालक विवेकको काँधमा आइपरेको छ ।

चार वर्षको उमेरमै आमाले छाडेर गएपछि विवेकका दाजु बहिनी टुहुरो बन्नुपर्यो । मामाघरतर्फको हजुरआमाको शरणमा हुर्किएका विवेकले कक्षा ३ सम्म गाउँ नजिकैको आधारभूत विद्यालयमा अध्ययन गरे । तर भर्ना गर्न जन्मदर्ता नभएपछि पढाइ छाड्नु परेको थियो । चुरेको काखमा लगभग १० धुर ऐलानी जग्गा चर्चेर विवेकको परिवार बसिरहेका छन् । टाउको लुकाउन बनाएको टिनको सानो छाप्रोबाहेक सम्पत्तिका नाममा केही पनि छैन ।

बाल्यकाल निकै सङ्घर्षमा बिताएका विवेकले गाउँमै साहुको ट्र्याक्टरमा बालुवा लोड गर्ने कामबाट मजदुरी सुरु गरे । अहिले उहाँ एउटा कुशल ट्र्याक्टर चालक बनिसेका छन् । तर, आफू जन्मेहुर्केको देशमा अनागरिक बन्नुपर्दा सीपसमेत बेकार बनेको छ । “निकै दुःख गरेर एउटा सीप सिकेको थिएँ, लाइसेन्स बनाउन पाए यसैको सहाराले परिवारको भरणपोषण गर्ने थिएँ । कागजात नहुँदा ट्र्याक्टर चलाएर परिवार पाल्ने सपना पनि अधुरो हुने भयो”, उनले सुनाए ।

विवेकको आमाले सानैमा छाडेर गइन्

विवेकका जिजूहजुरआमा अतिरुपाले भनिन्, “बुबाको पनि अत्तोपत्तो छैन । केही समय पहिला ज्वाइँ आइपुग्नुभएको थियो । सोधीखोजी गरेका थियौँ । उहाँकै केही कागजात बनेको रहेनछ । त्यसपछि फेरि त्यसै हराउनुभयो ।”

विवेकका हजुरबुबाको पनि कुनै कागजात फेला नपरेको अतिरुपाको भनाइ छ । कागजात भएका घरतर्फका आफन्त कोही फेला नपरेका कारण दुई पनाति पनातिनीको भविष्य नै अन्धकार बनेको उनले दुखेसो पोखेकी छन्।

विवेककी हजुरआमा बोल्न सक्दिनन् । जन्मजातै फरक क्षमताकी हुन् । जिजूहजुरआमा पनि वृद्ध भइसकेकी छन् । बहिनीको भविष्यको चिन्ताले विवेकलाई सताइरहन्छ । ज्याला मजदुरी गरेरै भए पनि बहिनीलाई ठूलो मान्छे बनाउने उनको सपना छ । तर, परिस्थितिले देशको नागरिकसम्म बन्ने हैसियत दिएन– दुई दाजुबहिनीलाई । एकपटक जन्मदर्ताका लागि स्थानीयवासीको सल्लाहमा दाजुबहिनी वडा कार्यालयसम्म पुगे पनि कुनै प्रमाण नभएको भन्दै त्यसै फर्कनुपरेको उनीहरूको गुनासो छ ।

विवेकले जेनतेन बहिनी बिविकालाई हरिवन नगरपालिका–१ पटौनामा रहेको पटौना आधारभूत विद्यालयमा पढाएका छन् । कक्षा ७ मा पढ्ने बिविकालाई अर्को वर्ष कक्षा ८ मा अनिवार्य भर्ना गर्नुपर्छ भन्दै विद्यालयले जन्मदर्ता मागेको छ । तर, कसरी जन्मदर्ता बन्छ भन्ने केही थाहा छैन । बहिनीले पनि आफूले जस्तै पढाइ छाड्नुपर्ने हो कि भन्ने उहाँलाई चिन्ता छ । आफू र बहिनीको जन्मदर्तामात्र बने पनि अलपत्र बन्नु पर्दैन थियो भन्ने उनलाई लागेको छ । आफ्नो र बहिनीको जन्मदर्ताका लागि पहल गरिदिन उनले आग्रहसमेत गरेका छन् ।

अर्कातर्फ विवेकको परिवारले प्रयोग गरिरहेको सानो बाँससमेत जीर्ण बनेर ढलेपछि अहिले परिवारलाई थप समस्या भएको छ । जसले गर्दा अहिले टाउको लुकाउने ठाउँसमेत नभएको उहाँले सुनाए । छिमेकीकोमा शरण लिएर बस्नुपरेको भन्दै विवेकले पुरानो घर भएको ठाउँमा ऋणधन गरेर भए पनि एउटा घर बनाउने सपना रहेको बताए । तर, काम गरेर तिर्छु भन्नलाई समेत कुनै कागजात नहुँदा ऋण पाउने आशा नरहेको उनको दुखेसो छ।

निकै इमानदार र मेहेनती विवेकको परिवारले उनैको भरथेगमा गुजारा गरिरहेको स्थानीय सुवास श्रेष्ठले बताए । पढाइलेखाइ गर्न नपाएका विवेकले ट्र्याक्टर चलाउन सिकेर जीविका चलाउने आधार बनाए पनि पूरा गर्न नसकेको उनको भनाइ थियो । विद्यमान कानुनी व्यवस्थाका कारण उनको जन्मदर्ता बन्न नसक्दा उनीसहित उनको भावी पिँढीले समेत अनागरिकको जीवन बाँच्नुपर्ने अवस्था देखिएको भन्दै दुःख व्यक्त गरेका छन्।

विवेकको समस्याका विषयमा वडाका तर्फबाट हुनेसम्म गर्न आफू तयार रहेको वडाध्यक्ष टमबहादुर घिसिङले बताए । नाबालक र नाबालिकाको जन्मदर्ताका विषयमा आफूले वडासचिवसँग नियमित कुराकानी गरेर कानुनी प्रक्रियाअनुसार निकासका लागि पहल गरिरहेको उनले सुनाए । “कानुनले दिएको दायरमा रहेर उनीहरूको कागजात बनाउने कुरामा पहल गरिरहेको छु”, वडाध्यक्ष घिसिङले भने ।