काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

२३ पुष २०८२
अ+
अ-

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आउँदो माघ १ गतेदेखि बीमा क्षेत्रमा हुने सम्पूर्ण भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय माध्यमबाट गर्नुपर्ने व्यवस्था लागू गर्न सबै बीमा कम्पनीलाई निर्देशन दिएको छ ।

प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा, पुनर्बीमा कम्पनी तथा बीमा दलालहरूलाई सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा सिधै रकम जम्मा हुने गरी डिजिटल प्रणाली प्रयोग गर्न निर्देशन दिएको हो ।

उक्त निर्देशन अनुसार माघ १ पछि कुनै पनि प्रकारको भुक्तानी नगद वा अन्य माध्यमबाट गर्न नपाइनेछ । सबै रकम बैंक वा वित्तीय संस्थामा रहेको खातामार्फत इलेक्ट्रोनिक प्रणालीबाट भुक्तानी गर्नुपर्नेछ ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ अनुसार बीमालेखअन्तर्गत दाबी भुक्तानी गर्दा बीमालेखका शर्त तथा प्रचलित कानुनअनुसार भुक्तानी पाउने व्यक्तिको बैंक खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।

सरकारले यसअघि नै सार्वजनिक निकायबाट गरिने सबै भुक्तानी डिजिटल बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा बीमा प्राधिकरणले पनि सोही अनुरूप निर्देशन जारी गरेको जनाएको छ ।

यसअघि प्राधिकरणले बीमा कम्पनीहरूलाई आफ्ना स्थायी, अस्थायी, करार, ज्यालादारी तथा अन्य सबै प्रकारका कर्मचारी र श्रमिकलाई दिइने तलब, ज्याला तथा पारिश्रमिक अनिवार्य रूपमा बैंक खातामार्फत भुक्तानी गर्न निर्देशन दिएको थियो ।