काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

२३ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले व्यक्तिगत रूपमा विशेष महाधिवेशन बोलाएपछि कांग्रेस विभाजनको संघारमा पुगेको हो।

महामन्त्रीद्वयले बुधबार औपचारिक रूपमै वक्तव्य जारी गरी विशेष महाधिवेशन बोलाएका हुन्। उनीहरूले २७ र २८ पुसमा विशेष महाधिवेशन काठमाडौँ भृकुटीमण्डपमा बोलाएका छन्।

कांग्रेस केन्द्रीय कार्यालयले बुधबारै विज्ञप्ति जारी गरी विशेष महाधिवेशन बोलाउने अधिकार कुनै पार्टीका कुनै पदाधिकारी वा सदस्यलाई नभएर केन्द्रीय कार्यसमितिलाई रहेको भन्दै सहभागी नहुन अपिल गरेको छ।

त्यस्तो कार्य विधानविपरीत हुने भएकाले संलग्न नहुन सबै तहका पदाधिकारी‚ सदस्य‚ महासमिति सदस्य‚ महाधिवेशन प्रतिनिधि लगायतलाई कांग्रेसले अपिल गरेको छ।

महामन्त्रीद्वले २९ पुसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएकाले विशेष महाधिवेशन बोलाउन माग गरेका थिए। तर पार्टीले २८ पुसमा नियमित महाधिवेशन बोलाएको थियो।

२८ पुसमा नियमित महाधिवेशनसमेत हुन नसकेपछि महामन्त्रीहरूले विशेष महाधिवेशन बोलाउन लागेका हुन्। पार्टीले नियमित महाधिवेशन २७ वैशाख २०८३ मा बोलाएको छ। पार्टीको निर्णय उल्लंघन गरी व्यक्तिगत रूपमा महाधिवेशन बोलाए महामन्त्रीद्वलाई कारबाही गर्ने तयारी कांग्रेसको छ।