काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

२३ पुष २०८२
अ+
अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिमाथि पार्टी कार्यालय बाहिर भएको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन् । उनले यस्तो गतिविधि लोकतान्त्रिक संस्कार र मूल्य–मान्यताविरुद्ध भएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै थापाले यस विषयमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले व्यक्त गरेको विचारसँग आफू पूर्ण रूपमा सहमत रहेको उल्लेख गरेका छन् । उनले प्रजातन्त्रको मूल आत्मा नै फरक विचार र दृष्टिकोणको सम्मान भएको स्पष्ट पारेका छन् ।

थापाले लेखेका छन्, “एक असल प्रजातन्त्रवादी ‘सत्यका अनेक रूप’ मा विश्वास गर्छ र असहमतिलाई सम्मान गर्छ । यदि विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहार फरक मत राखेकै कारण भएको हो भने यो झन् गम्भीर र निन्दनीय विषय हो ।”

नेपाली कांग्रेस परिवर्तनको पक्षमा उभिएको पार्टी भएको उल्लेख गर्दै उनले परिवर्तनको चाहना राख्दैमा विधि, विधान र प्रक्रिया मिच्न नहुने बताए ।

“हामी सबै परिवर्तन चाहन्छौँ, तर त्यसका लागि तय गरिएको प्रक्रिया बाहिर जाने कुनै विकल्प छैन । प्रक्रियामै विश्वास गरौँ, हामी सबै एउटै यात्रामा छौँ,” थापाले भनेका छन् ।

यसअघि महामन्त्री विश्वप्रकाश शर्माले पनि निधिमाथि भएको व्यवहारको कडा आलोचना गर्दै राजनीतिमा मर्यादित र स्वस्थ आचरणलाई मात्रै प्रोत्साहन गर्नुपर्ने बताएका थिए । यस्ता अमर्यादित गतिविधिको विरोध गर्नु सबैको साझा जिम्मेवारी भएको उनको भनाइ थियो ।

मंगलबार केन्द्रीय सम्पादन समिति बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका बेला विशेष महाधिवेशन पक्षधर समूहले निधिमाथि दुर्व्यवहार गरेका थिए । निधिले विशेष महाधिवेशन सम्भव नरहेको धारणा सार्वजनिक गरेपछि उक्त घटना घटेको बताइएको छ ।