क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री तथा विश्वकै सबैभन्दा वृद्ध निर्वाचित सरकार प्रमुख रहिसकेका महाथिर मोहम्मद घरमै लडेर घाइते भएपछि अस्पताल भर्ना भएका छन्। एक सय वर्ष नाघिसकेका महाथिरको दाहिने हिपमा फ्र्याक्चर देखिएको छ।
उनका सहयोगी सुफी युसोफका अनुसार मंगलबार बिहान महाथिर पूर्ण होशमै रहेका बेला एम्बुलेन्समार्फत क्वालालम्पुरस्थित नेसनल हार्ट इन्स्टिच्युट पुर्याइएको थियो। प्रारम्भिक परीक्षणपछि चिकित्सकहरूले हिप फ्र्याक्चर पुष्टि गरेका हुन्।
बालकनीबाट बैठक कोठातर्फ सर्ने क्रममा सन्तुलन गुमाएर उनी लडेको बताइएको छ। चिकित्सकहरूको सल्लाहअनुसार महाथिरलाई उपचार र निरन्तर स्वास्थ्य निगरानीका लागि केही हप्ता अस्पतालमै राखिने अपेक्षा गरिएको छ।
हालका वर्षहरूमा महाथिर विभिन्न स्वास्थ्य समस्याबाट गुज्रिँदै आएका छन्। गत जुलाईमा १०० औँ जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएपछि अत्यधिक थकानका कारण उनी अस्पताल भर्ना भएका थिए। यसअघि उनी मुटुसम्बन्धी समस्याका कारण बाइपास शल्यक्रिया पनि गराइसकेका छन्।
घटनापछि मलेसियाका वर्तमान प्रधानमन्त्री अनवर इब्राहिम र उनकी पत्नी वान अजिजा वान इस्माइलले महाथिरको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
महाथिर मोहम्मद मलेसियाली राजनीतिमा ऐतिहासिक व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले सन् १९८१ देखि २००३ सम्म तथा पुनः २०१८ देखि २०२० सम्म प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व गरेका थिए। दोस्रो कार्यकालमा ९४ वर्षको उमेरमा निर्वाचित हुँदै उनी विश्वकै सबैभन्दा वृद्ध सरकार प्रमुख बनेका थिए।