सहर
अस्पतालजन्य फोहोर पनि सडकमै, जनस्वास्थ्यमा गम्भीर असर
जनकपुरधाम। ढल्केवरबाट मधेस प्रदेशको राजधानी जनकपुरतिर प्रवेश गर्दै गर्दा मुजेलियामा एउटा भव्य धनुष र भगवान् रामसहितको सहिद गेटबाट गुज्रनुपर्छ। उता भारततिरबाट आउँदा सिमामा जानकी मन्दिरको प्रतिविम्बजस्तो प्रवेशद्वार पार गर्नुपर्छ।
जनकपुरधामको ऐतिहासिक महत्त्व झल्काउने यी संरचना कटेर सहरी क्षेत्रतिर अघि बढेपछि चाहिँ जो कोही फोहोरको डंगुर देखेर आतेस मान्ने गरेका छन्।
मुजेलियादेखि रामानन्द चोकसम्मै सडक वरिपरि फोहोरै फोहोर देखिन्छ। स्थानीयदेखि पर्यटक र जनकपुरबाट बाहिरिने सवारी साधनमा बसेका यात्रुसम्मले जथाभावी फोहोर फालिहाल्ने प्रवृत्तिको परिणाम हो यो।
जनकपुरधाम उपमहानगरपालिका–८ का दीपक चौधरीले घरअगाडिको खाली जग्गा कहिल्यै सफा देखेका छैनन्। डुङडुङ फोहोर गन्हाउने र ढल बगिरहने समस्या लिएर उनी कैयौँपटक उपमहानगरपालिका पुगिसके। तर समस्या ज्युँको त्युँ।
“हामी बिहान सफा गर्छौं। पसलहरू ८ बजेपछि खुल्छन् र सडकमा फोहोर थुपारिदिन्छन्। बिहानको मेहनत बेकार हुन्छ, फोहोर जस्ताको त्यस्तै रहन्छ,” वडाध्यक्ष साहले भने।
चौधरीको घरअगाडिको खाली जग्गा वास्तवमा पहिले पोखरी थियो। फोहोरको थुप्रोले पोखरीको नामोनिसान मेट्यो। “वर्षौं बितिसक्यो, अवस्था त्यस्तै छ,” उनले भने, “जानकी मन्दिरआसपासको क्षेत्र भए पनि यहाँ कसैको नजर पर्न सकेको छैन।”
जनक चोकमा समेत स्थानीय होटेलवालाहरूले बिहानको समयमा फोहोर फाल्ने गरेका छन्। जसले बिहानैदेखि जनकपुरधामको अनुहार कुरूप देखिने गरेको छ। फोहोर व्यवस्थापनमा न उपमहानगर चनाखो छ न सर्वसाधारण।

मुरली चोकको सडकमा फालिएका फोहोर। तस्बिर : वीरेन्द्र रमण
घरायसी फोहोरलाई फोहोरमैला संकलन गर्ने गाडी आउँदा व्यवस्थापन गर्नुपर्छ भन्ने सामान्य चेतनासमेत नदेखिँदा सडकमै फोहोर थुपार्ने प्रवृत्ति देखिएको हो। “उपमहानगरपालिकाले सफा गरिदिन्छ, तर सफा गरिनसक्दै मानिसहरू फोहोर फालिदिन्छन्,” स्थानीय युवा सुशील कर्ण भन्छन्, “टोल सुधार समितिदेखि हामी स्थानीयले पनि हार मानिसकेका छौँ। कसरी टोल सफा राख्ने भन्ने जनचेतना मान्छेमा छैन।”
आफूले छरछिमेकलाई जथाभावी फोहोर नफाल्न आग्रह गर्दा उल्टै गाली खाने गरेको कर्ण सुनाउँछन्। अशिक्षा र अज्ञानतासँगगै ‘कसले के गर्न सक्छ र’ भन्ने दम्भी सोचका कारण पनि सडकमै फोहोर फाल्ने प्रवृत्ति मौलाएको कर्णको बुझाइ छ।
जनकपुरधामका व्यवसायी अजय चौधरी विभिन्न ठाउँमा फोहोर फाल्ने डस्टबिन राखिए पनि तिनमा फोहोर नफाली बाटोमै यत्रतत्र फाल्ने गरिएको बताउँछन्।
फोहोरकै कारण पर्यटकहरूमासमेत जनकपुरप्रति नकारात्मक छवि बनिरहेको छ। भारतको राजस्थानबाट जनकपुर घुम्न आएका श्याम गोयन्काले ‘सीता नगरी’मा यसरी फोहोर देख्दा आफ्नो चित दुखेको गुनासो गरे। उनले भने, “मलाई लाग्छ यहाँका मान्छेमा सचेतनाको कमी छ। म मन्दिर जाँदा मन्दिर वरिपरि नै फोहोर देखेँ, यो त राम्रो होइन।”
जनकपुर-३ का वडाध्यक्ष दीपेन्द्र साह जथाभावी फोहोर फाल्नेलाई दण्ड सजायको व्यवस्था नगरेसम्म फोहोर व्यवस्थापनको चुनौती रहिरहने बताउँछन्। “हामी बिहान सफा गर्छौं। पसलहरू ८ बजेपछि खुल्छन् र सडकमा फोहोर थुपारिदिन्छन्। बिहानको मेहनत बेकार हुन्छ, फोहोर जस्ताको त्यस्तै रहन्छ,” वडाध्यक्ष साहले भने।
यस्तै गुनासो १० नम्बरका वडाध्यक्ष मिथिलेश कर्णको पनि छ। “जबसम्म सफाइप्रति स्थानीयहरूको सोचमा परिवर्तन आउँदैन, तबसम्म चाहेर पनि जनकपुरधामको फोहोरको समस्या समाधान गर्न सकिँदैन,” उनले भने।
मेयरको पहिलो निर्णयले पनि सुध्रेन अवस्था
जनकपुरधामका मेयर मनोजकुमार साहले निर्वाचित भएलगत्तै फोहोर व्यवस्थानको जिम्मेवारी वडालाई दिने र उनीहरूले नै आआफ्ना वडाको फोहोर व्यवस्थापन गर्ने भनी पहिलो निर्णय गरेका थिए। जसका लागि आवश्यक पर्ने ट्र्याक्टरसहित सफाइकर्मीहरूसमेत जिम्मा लगाएका थिए। तर साढे तीन वर्ष बितिसक्दा पनि स्थिति सुध्रेको छैन।
“हामीले प्रयास गरेका छौँ। अनेकौँपटक जग्गा लिजमा लिएर ल्यान्डफिल साइट बनाउने प्रयास गर्दासमेत स्थानीयहरूको अवरोधको कारणले गर्दा समस्या जस्ताको त्यस्तै देखिएको छ,” मेयर साह भन्छन्।
मेयर साह भने फोहोर समस्या समाधान गर्न गुठी संस्थान बाधक रहेको बताउँछन्। “जनकपुरधामको सबै जग्गा उनीहरूसँग छ हामीले जे काम गर्न पनि जग्गा लिनुपर्ने बाध्यता छ। त्यसमाथि जग्गा लिन नै समय लाग्ने, अनेक किसिमका अवरोध हुने गरेकाले चाहेर पनि विकासको अगाडि बढाउन सकेका छैनौँ,” उनले भने।
सफाइ प्रमुख श्याम ठाकुरका अनुसार उपमहानगरसँग चालक तथा सफाइकर्मीहरू १५० जना, टयाक्टर २१ वटा, टिपर आठ, जेसीबी दुई, पानी टयांकर दुई र म्याजिक भ्यान दुईवटा छ। ती सबै साधान प्रयोग गरेर फोहोर व्यवस्थापन गर्ने गरिएको छ।
जग्गा विवादले बनेन ल्यान्डफिल साइट
संविधान जारी भएयताका दुई स्थानीय तहको निर्वाचनमा जनकपुरमा फोहोर व्यवस्थापन प्रमुख राजनीतिक मुद्दा बनेको थियो। तर निर्वाचित भइसकेपछि सबैले आफ्ना प्रतिबद्धता भुल्ने गरेका छन्।
मेयर साहकै स्यानेटरी ल्यान्डफिल साइट निर्माण तत्काल सुरु गराउने प्रतिबद्धता पनि पूरा हुन सकेको छैन। उनले फोहोर व्यवस्थापन कार्यमा आधुनिक तथा वैज्ञानिक प्रणाली अपनाई यसबाट घरेलु कार्यमा प्रयोग हुने ऊर्जा तथा कम्पोस्ट मल उत्पादन गर्ने प्रतिबद्धतासमेत गरेका थिए। यो पनि चर्चामै सीमित भयो।
यता मेयर साह भने स्थानीयको अवरोधका कारण यी प्रतिबद्धता पूरा हुन नसकेको बताउँछन्। “हामीले प्रयास गरेका छौँ। अनेकौँपटक जग्गा लिजमा लिएर ल्यान्डफिल साइट बनाउने प्रयास गर्दासमेत स्थानीयहरूको अवरोधको कारणले गर्दा समस्या जस्ताको त्यस्तै देखिएको छ,” मेयर साह भन्छन्।
उपमहानगरका प्रवक्ता परमेश झाका अनुसार २०७५ सालतिर फोहोर व्यवस्थापनका लागि नगराइन नगरपालिकाको फुलगामामा रहेको मनियारी डिहमा जग्गा लिजमा लिइएको थियो। तर सो जग्गा राजर्षि जनक विश्वविद्यालयका लागि राखिएको भन्दै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अवरोध गरेपछि हालसम्म ल्यान्डफिल साइटको जग्गा विवाद समाधान हुन सकेको छैन।
चिकित्सकहरूका अनुसार खुला फालिएका फोहोरका कारण झाडापखाला, टाइफाइड, छालासम्बन्धी रोगसहित डेंगी, मलेरियाजस्ता रोग फैलिने सम्भावना उच्च छ।
अरू ठाउँ खोजे पनि तिनमा पनि विवाद हुने गरेकाले आफूहरू पछाडि हटनुपर्ने अवस्था रहेको झा बताउँछन्। उनले भनेजस्तै उपमहानगरपालिकाको ५२ बिघा, वडा नम्बर १८ को महुवा, २४ को बसहियासहित लक्ष्मीनियाँ गाउँपालिकामा समेत अन्तिम चरणमा पुगेपछि स्थानीयको अवरोधका कारण जग्गाप्राप्ति प्रक्रिया रोकिएको थियो।
झाका अनुसार अहिले स्थानीयवासीका खाली जग्गामा फोहोर राख्ने र सोबापत उनीहरूलाई दुईदेखि पाँच लाख रुपैयाँ दिने गरिएको र पछि माटो हालेर पुर्ने गरिएको छ।
सडकमै अस्पतालजन्य फोहोर
जनकपुरधामका कतिपय स्वास्थ्य संस्थामै सुरक्षितरूपमा फोहोर व्यवस्थापन नगरिएको समेत पाइएको छ। अस्पतालजन्य फोहोर धेरैजसो बाह्र बिघा मैदान वरपर फाल्ने गरिएको छ भने कतिपय निजी क्लिनिकले सडकमै फाल्ने गरेका छन्।

जनकपुरका अस्पतालबाट निस्किएका फोहोर। तस्बिर : वीरेन्द्र रमण
अरू त अरू मधेस स्वास्थ्य प्रतिष्ठानको अस्पतालबाट निस्कने फोहोरसमेत सडकमा नै फालिएको पाइन्छ। यसले जनकपुरवासीमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने सम्भावना हुन्छ।
चिकित्सकहरूका अनुसार खुला फालिएका फोहोरका कारण झाडापखाला, टाइफाइड, छालासम्बन्धी रोगसहित डेंगी, मलेरियाजस्ता रोग फैलिने सम्भावना उच्च छ। स्थानीय स्वास्थ्यकर्मी सञ्जयकुमार चौधरी अस्पतालजन्य फोहोरहरू नाला र खुला ठाउँमा फालिनाले डेंगी र मलेरियाको जोखिम बढेको बताउँछन्।
चिकित्सकहरूका अनुसार अस्पतालजन्य फोहोर जलाउँदा धेरै किमिसका विषाक्त वायु निस्कन्छ। जसले मानव स्वास्थ्य र वातावरणमा गम्भीर समस्या निम्त्याउँछ। चिकित्सक विजयकुमार सिंह अस्पतालबाट फालिएका फोहोरबाट विशेषगरी त्यस्ता फोहोर सकंलन गर्ने कामदार, बालबालिका र सडकछेउमा हिँडडुल गर्नेहरू त्यसको चपेटामा आउन सक्ने बताउँछन्।
जनकपुरधामको अस्पताल रोडमा साना ठूला करिब २५ वटा अस्पताल छन् भने दुई सयभन्दा बढी निजी क्लिनिक तथा प्याथोलोजी छन्। जसमध्ये केहीले सडकमै फोहोर फाल्ने गरेको देखिन्छ।