काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेसी र मुस्लिम आयोगमा पुगेर पदाधिकारीसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन्।
पछिल्ला दिनमा तराई-मधेसका केही जिल्लामा देखिएका साम्प्रदायिक असहिष्णुताका घटनाबारे छलफल केन्द्रित रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। त्यस्तै संविधानले संवैधानिक निकायका रूपमा व्यवस्था गरेका दुवै आयोगको काम, कर्तव्य, अधिकार, आयोगले भोगिरहेका समस्या तथा सरकारसँग आयोगका अपेक्षालगायत विषयमा पनि आयोग पदाधिकारीले मन्त्री अर्याललाई जानकारी गराएका थिए।
छलफलका क्रममा मन्त्री अर्यालले धार्मिक सम्प्रदायबीच आपसी सद्भाव कायम गर्न मधेसी, थारू र मुस्लिम आयोगबाट जारी भएको संयुक्त अपिलको खुलेर प्रशंसा गरे। नागरिक समाजका रूपमा रहेका आयोगहरू तथा सबैको सहयोगमा पछिल्ला दिनमा देखिएका त्यस्ता समस्या समाधानउन्मुख भएको मन्त्री अर्यालको भनाइ छ। त्यस्ता घटना दोहोरिन नदिन तथा समाजमा शान्ति तथा सद्भाव कायम राख्ने सम्बन्धमा सबैको सकारात्मक भूमिकको उनले अपेक्षा राखे।

गृहमन्त्री अर्यालले आयोगलाई आवश्यक सहयोग गर्न सरकार सधैँ तत्पर रहेको विश्वास दिलाउँदै कतिपय विषयमा आयोगका तर्फबाट आवश्यकताअनुसार सरकारलाई ध्यानाकर्षण तथा सल्लाह-सुझावको अपेक्षा राखे। धार्मिक तथा सामाजिक सहिष्णुता खल्बलाउन खोज्ने वा खल्बल्याउने जोसुकैलाई कारबाही गर्ने उनले चेतावनी दिए। उनले विवेकको संरक्षकका रूपमा रहेका आयोगहरूले धार्मिक तथा सामाजिक सहिष्णुता कायम राख्ने सन्दर्भमा जनचेतना फैलाउनेलगायत काम गरी समस्याको दीर्घकालीन समाधान गर्न अनुरोध गरेका थिए।
छलफलका क्रममा मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले कुनै धर्मविशेषको भन्दा पनि समग्र मधेसी समुदायको आयोग रहेको बताए। त्यस्तै मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले समाजमा धार्मिक, सामाजिक सद्भाव कायम गर्ने सम्बन्धमा आयोगले सधैँ आवश्यक सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।