काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

२३ पुष २०८२
अ+
अ-

चितवन। ‘सम्पदा सम्पन्न माडी नगर, इको कृषि र पर्यटनको सहर’ भन्ने नारासहित अघि बढ्दै आएको चितवनको माडी नगरपालिकाले फोहर व्यवस्थापनमा नयाँ विधि अपनाउने भएको छ। नगरले घरघरबाट सङ्कलन हुने फोहर वर्गीकरण गरी तौलका आधारमा पैसा दिएर किन्ने ‘कलेक्ट एण्ड पे’ ढाँचा लागू गर्न लागेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार नगरभित्रका घरधुरीबाट सङ्कलन हुने फोहर घरबाटै वर्गीकरण गरिनेछ र टोल विकास संस्थामार्फत तौलका आधारमा रकम भुक्तानी गरिनेछ। उनले भने, “हामीले फोहर व्यवस्थापनमा पारम्परिक तीन प्रकारको वर्गीकरणभन्दा फरक सात प्रकारको वर्गीकरण लागू गर्ने निर्णय गरेका हौँ।” यस ढाँचाअन्तर्गत फोहर सङ्कलन गर्ने गाडीमा सात प्रकारका छुट्टाछुट्टै टोकरी राखिनेछन्।

वर्गीकरणमा कागज, प्लास्टिक झोला (सादा), प्लास्टिक बोतल, प्रयोगयोग्य सिसाका बोतल, धातुजन्य सामग्री, रङ्गीन मेटालिक प्लास्टिक र अन्य वर्गीकरणमा नपरेका फोहर रहने प्रशासकीय अधिकृत भुसालले जानकारी दिए। उनले सोहीअनुसार कुन फोहर कति तौलको छ र अवस्था कस्तो छ भन्ने आधारमा प्रत्येक महिनाको अन्त्यमा घरधुरीलाई रकम भुक्तानी गरिने बताए।

भुसालका अनुसार बजार मूल्यका आधारमा बिक्रीयोग्य फोहरको मूल्य निर्धारण गरिनेछ। “घरमा एकै दिन धेरै फोहर जम्मा हुँदैन र सबै प्रकारका फोहर बिक्रीयोग्य पनि हुँदैनन्। बिक्ने फोहरको पैसा दिइन्छ, औषधिजन्य वा प्रयोगमा नआउने खतरनाक फोहर छुट्टै व्यवस्थापन गरिन्छ”, भुसालले भने ।

चाउचाउ, बिस्कुट, गुट्खालगायत प्लास्टिकजन्य फोहरबाट टायल, इन्टरलक, टाँकजस्ता निर्माण सामग्री उत्पादन हुने भएकाले वातावरणमा बढी असर पार्ने यस्ता फोहरलाई नगरपालिकाले अन्य फोहरभन्दा महँगो मूल्यमा किन्ने प्रशासकीय अधिकृत भुसालले उल्लेख गरे ।

उनका अनुसार ती फोहर लुम्बिनी प्रदेशको राप्ती गाउँपालिकामा रहेको प्लान्टमा पठाउने योजना बनाइएको छ। “यस्ता फोहर बढी हुने भएकाले वातावरणमा असर पर्छ, त्यसैले सरसफाइमा टेवा पुग्नेगरी ती फोहर किन्ने व्यवस्था गरेका हौँ”, उनले थपे।

भुसालले यस ढाँचाले फोहर व्यवस्थापन थप प्रभावकारी हुने र नागरिकमा सरसफाइ तथा फोहर छुट्टयाउने बानी विकास हुने विश्वास व्यक्त गरे। नगरपालिकाले योजना कार्यान्वयनको तयारी गरिरहेको बताउँदै हाल टोल विकास संस्थाहरूलाई अभिमुखीकरण गरिरहेको उनले जानकारी दिए।

माडी नगरपालिकामा दैनिक करिब आठ टन फोहर सङ्कलन हुने गर्दछ। पूर्व, पश्चिम र उत्तरतर्फ चितवन राष्ट्रिय निकुञ्ज, चुरे पहाड तथा दक्षिणतर्फ सोमेश्वर पर्वतमालाले घेरिएको हरियाली उपत्यका तथा जैविक विविधताले सम्पन्न माडीमा करिब १० हजार घरधुरी बसोबास गर्दै आएका छन्।