काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

२३ पुष २०८२
निर्वाचन आयोग। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। यही २१ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन महिला र तीन पुरुष गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

महिला क्लस्टरतर्फ नेपाली कांग्रेसबाट गीता देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जनले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिइन्।

अन्य क्लस्टरबाट नेकपा एमालेका प्रेमप्रसाद दंगाल‚ नेपाली कम्युनिस्ट पार्टीबाट प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीबाट विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराएका छन्।

आफ्ना प्रस्ताव र समर्थकसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्तासँगै राजनीतिक दलहरूले उम्मेदवार चुनावी अंकगणितमा जुटेका छन्।

११० सदस्यीय प्रदेशसभा र ११९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभार अनुसार नेपाली कांग्रेस बलियो देखिन्छ। राष्ट्रियसभाका लागि बागमती प्रदेशमा प्रदेशसभाका ११० र पालिकातर्फ २३८ गरी ३४८ मतदाता छन् भने १० हजार तीन ५२ मतभार छ।

बागमती प्रदेशमा नेपाली कांग्रेसको प्रदेशसभामा ३७ र स्थानीय तहतर्फ एक सय आठजना छन्। त्योअनुसार कांग्रेसको चार हजार १३ मतभार छन्। यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीसँग दुई हजार सात सय ३८ मतभार छन्।

बागमती प्रदेशमा नेकपा एमाले दुई हजार पाँच सय ७१ मत मतभारसहित तेस्रो स्थितिमा छन्। प्रदेशसभामा १३ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको सात सय आठ मतभार छ भने नेपाल मजदुर किसान पार्टीको १९७ मतभार‚ हाम्रो नेपाली पार्टीको एक सय ६ मतभार र स्वतन्त्रको १९ मतभार छ।