काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

२३ पुष २०८२
अ+
अ-

भक्तपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको दिनसम्म आफू कुनै पार्टीमा आबद्ध नरहेको स्पष्ट पारेका छन्।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २९औँ स्थापना दिवसका अवसरमा भक्तपुरमा बुधबार आयोजित कार्यक्रममा खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफलसमेत नभएको स्पष्ट पारे। प्रधानमन्त्री सुशीला कार्कीले गैरदलीय सरकारमा बसेर दलीय राजनीति गर्न नमिल्ने भन्दै मन्त्रिपरिषद्को बैठकमा खरेलसहित तीन मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिएकी थिइन्।

खरेलसहित ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बल्लु गुप्ता रास्वपानिकट रहेको चर्चा चलेपछि प्रधानमन्त्री कार्कीले उनीहरूलाई राजीनामा दिन भनेकी छिन्। आफ्नाबारे विभिन्न चर्चा चल्ने गरेको भन्दै उनले चुनाव लड्ने वा नलड्नेसमेत कुनै निर्णय नगरेको बताए।

मन्त्री खरेलले आफू र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रित रहेको धारणा व्यक्त गरे। सञ्चारमाध्यमबाट हुने गलत सूचनाले निर्वाचनलाई समेत असर गर्नसक्ने भएकाले सहज हुन उनले आग्रह गरे। उनले २१ फागुनमा हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने भन्दै सञ्चारमाध्यमले पनि सही सूचना प्रवाह गर्न आग्रह गरे।