काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

२३ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली राष्ट्रिय महिला टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ करिब एक वर्ष मैदान बाहिर रहने भएकी छन्। अस्ट्रेलियन निन्जा ‘ए’ लिग क्लब वेलिङ्टन फिनिक्सले यस सिजनको बाँकी सबै खेल उनले गुमाउने पुष्टि गरेको हो।

क्लबका अनुसार उनको दायाँ घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) ग्राफ्ट च्यातिएको हो। लिगको राउन्ड ११ अन्तर्गत गत साता ब्रिसबेन रोअरविरुद्ध भएको खेलको दोस्रो हाफमा गोलकिपर क्लोई लिंकनसँग ठोक्किएपछि साम्बा घाइते भएकी थिइन्।

त्यसपछि गरिएको एमआरआई परीक्षणबाट २८ वर्षीया स्ट्राइकरको घुँडामा फेरि एसीएल चोट लागेको पुष्टि भएको हो। यसअघि उनले सन् २०२१ मा यही चोटका कारण घुँडाको शल्यक्रिया गराएकी थिइन्। यसपटक चोटका कारण साम्बा ९ देखि १२ महिनासम्म मैदानबाहिर रहने क्लबले जनाएको छ।

वेलिङ्टन फिनिक्सकी मुख्य प्रशिक्षक बेभ प्रिस्टम्यानले साम्बाको चोटले टिम निकै दुःखी भएको बताइन्। “उनी उत्कृष्ट खेलाडी मात्र होइन, असाधारण व्यक्ति पनि हुन्। साम्बा टिमकी सबैभन्दा लोकप्रिय खेलाडीमध्ये एक हुन्। यो चोटबाट म अत्यन्तै दुःखी छु। तर, उनी सकेसम्म छिटो मैदान फर्किन चाहन्छिन्,” प्रिस्टम्यानले भनिन्।

यस सिजन वेलिङ्टन फिनिक्सले एसीएल चोटबाट तीन खेलाडी गुमाउने पक्का भएको छ। यसअघि डच खेलाडी टेसल मिडाग र मिडफिल्डर एलिसा व्हिनह्याम पनि सिजनभर बाहिरिएका थिए। साम्बाको अनुपस्थितिपछि फिनिक्सले विकल्पका रूपमा नयाँ स्ट्राइकर खोज्ने तयारी गरेको छ। तर, लिगको रजिस्ट्रेसन विन्डो बन्द भइसकेकाले क्लबले फ्रि एजेन्ट खेलाडी मात्र अनुबन्ध गर्न पाउने छ।

यद्यपि, क्लबले डिसेम्बर २९ को अन्तिम म्यादअघि अमेरिकी फरवार्ड माकाला वुड्सलाई अनुबन्ध गरिसकेको जनाएको छ।