काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

वातावरण

सके विद्युतीय चुलो प्रयोग गर्न नत्र भेन्टिलेसन बनाउन सुझाव

२३ पुष २०८२
आलु चिप्स बनाउँदै बागलुङको ताराखोला गाउँपालिकाकी एक महिला। तस्बिर : विद्या राई
अ+
अ-

काठमाडौँ। भोजपुर, हतुवागढी गाउँपालिका–२ की ४५ वर्षीया सीता राईलाई गत असोजमा खोकी लाग्ने, छाती दुख्ने, आँखा पोल्ने, चिलाउने र कम देख्ने समस्याले एकाएक सताउन थालेपछि जचाउन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगिन्।

जाँचपछि डाक्टरले औषधि मात्र लेखेनन्, घरको धुँवाबाट जोगिने चेतावनीसमेत दिए। “डाक्टरले धुँवाले समस्या भएको हो, धुँवाबाट नजोगिए समस्या बल्झिइरहन्छ भन्नुभयो। भान्छाको काम नगरी सुखै छैन, कसरी धुँवाबाट जोगिनु?,” राईको प्रश्न छ।

भान्छा वा घरबाट निक्लिने धुँवाका कारण स्वास्थ्य समस्या झेल्नु अधिकांश नेपाली महिलाको बाध्यता हो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गत १ पुसमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनका अनुसार खाना, खाजा बनाउँदा मात्र होइन, बस्तुभाउलाई खोले, कुँडो पकाउने क्रममा काठ/दाउरा, गुइँठा, मट्टितेल, कोइलालगायत परम्परागत इन्धनको प्रयोगले घरभित्रै उत्पन्न हुने धुवाले संसारभरिका गृहिणीलाई सास्ती थपेको छ।

घरभित्रको धुँवाजन्य वायुमा हुने विषाक्त कण, कार्बन मोनोअक्साइड, बेन्जिन तथा फर्माल्डिहाइडमा स्वास्थ्यमा गम्भीर हानि पुर्‍याउने तत्त्व हुन्छन्। सामान्यतयाः धुँवा निष्कासन हुने भेन्टिलेसनको उचित व्यवस्था नभएका घरमा विषालु धुँवाधुलो श्वासनली हुँदै शरीरभित्र प्रवेश गर्छ। वर्षभरि नै भान्छामा व्यस्त हुने महिला जति घरभित्रको धुँवाधुलोको मारमा पर्छन्। गृहणीका काखे बालबालिका पनि भान्छाबाट निस्कने विषालु धुँवाको सिकार हुने डब्लूएचओको प्रतिवेदनमा उल्लेख छ।

खासै ख्याल नगरिने घरायसी वायु प्रदूषणको असर डरलाग्दो छ। सन् २०२१ मा घरायसी वायु प्रदूषणबाट विश्वभरिका पाँच वर्षमुनिका तीन लाख नौ हजारभन्दा बढी बालबालिकासहित करिब २९ लाख मानिसको मृत्यु भएको डब्लूएचओको तथ्यांक छ। यसैगरी ९५ लाखजति मानिस घरायसी वायु प्रदूषणबाटै अपांग छन्।

सन् २०२३ मा घरेलु वायु प्रदूषणबाट नेपालमा भएको मृत्यु। तस्बिर : स्टेट अफ ग्लोबल एअरको वेबसाइटबाट

डब्लूएचओकै सन् २००९ को प्रतिवेदनअनुसार नेपालमा आठ हजार सात महिला र बालबालिकाको काठ दाउराको बाल्दा उत्पन्न भएको घरायसी दूषित वायुकै कारण अकालमा मृत्यु हुने गरेको छ।

डब्लूएचओकै प्रतिवेदनअनुसार घरायसी वायु प्रदूषणले मस्तिष्कघात, मुटु रोग, फोक्सोसम्बन्धीका दीर्घरोग, फोक्सोको क्यान्सरजस्ता नसर्ने रोगलाई बढावा दिन्छ। गर्भवती तथा महिलाको हकमा कम तौलको बच्चा जन्मने, गर्भ तुहिने, पाठेघरको क्यान्सर हुने जोखिम बढ्छ। यसैगरी श्वासप्रश्वास संक्रमण, दम, कानमा संक्रमण, क्षयरोग, मोतिबिन्दु, नाकको संक्रमण तथा क्यान्सर हुने जोखिम हुन्छन्।

जनस्वास्थ्य विज्ञ डा. शरद वन्त घरेलु वायु प्रदूषणको असर कम गर्न सकेसम्म विद्युतीय चुलोको प्रयोगलाई जोड दिनुपर्ने बताउँछन्। भन्छन्, “आगोमै पकाइतुल्याई गर्नुपर्छ भने भान्साकोठामा धुँवा उडेर जाने भेन्टिलेसनहरू बनाउनुपर्छ, परिवारका अन्य सदस्यले आलोपालो गर्नुपर्छ।”

डब्लूएचओका अनुसार, विश्वमा कुल जनसंख्याको दुई अर्बभन्दा बढीले खाना पकाउन दैनिक काठ/दाउराकै भर पर्छन्। काठ/दाउरा प्रयोग गर्ने चलन सहर बजारको तुलनामा ग्रामिण भेगका घरपरिवारमा बढी हुन्छ।

राष्ट्रिय जनगणना २०७८ ले पनि नेपालमा कुल परिवार संख्यामध्ये आधाभन्दा बढी ३४ लाखले खाना पकाउन अक्सर गरेर काठ/दाउराकै प्रयोग गर्ने तथ्यांक सार्वजनिक गरेको छ। अरू एक लाख ९३ हजारले गुइँठा र तीन हजार चार सय परिवारले मट्टितेल प्रयोग गर्छन्। कर्णाली प्रदेशमा सबैभन्दा बढी कुल परिवारमध्ये ८२.२ प्रतिशतले खाना पकाउन काठ/दाउरा प्रयोग गर्छन्।