तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका १‚ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक मजदुरको स्काभेटर र टिपरको बीचमा च्यापिएर मृत्यु भएको छ। प्रहरीका अनुसार व्यास नगरपालिका ५ का २५ वर्षीय महेन्द्र थापाको काम गरिरहेको अवस्थामा स्काभेटर र टिपरको बीचमा च्यापिएर मृत्यु भएको हो।
कालिका कन्स्ट्रक्सन कम्पनीको ई-एक्स ०६६ नम्बरको स्काभेटर र सोही कम्पनीको बा.प्र. ०६-००१ क ०२५१ नम्बरको टिपरले काम गरिरहेको अवस्थामा अचानक च्याप्दा सख्त घाइते भएका थापालाई उपचारका लागि मंगलबार दिउँसो दमौलीस्थित रत्नहरि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए। उनका अनुसार उपचारका क्रममा थापाको मंगलबार राति मृत्यु भएको हो।
टिपर चालक चितवनको राप्ती नगरपालिका २ का ३३ वर्षीय जीवनकुमार गोले र स्काभेटर चालक बारबर्दिया नगरपालिका ८‚ बर्दियाका २२ वर्षीय विशाल थारूलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको विकले बताए। उनका अनुसार शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ।