कास्की। पर्यटकीय राजधानी पोखरामा आजदेखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ। सिर्जनशील कलाकार समूह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरे।
उनले नेपाली कलाकार र कलाकृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनारी दिन प्रदर्शनीले सहयोग पुग्नेमा विश्वास व्यक्त गरे। “प्रदर्शनी आफैँमा सिकाइ हो, नेपाली र अन्तर्राष्ट्रिय जगतका कलाकारबीच अनुभव, सीप र प्रविधिको आदानप्रदान हुनेछ‚” उनले भने, “पोखरालाई कलाका माध्यमबाट विश्वमाझ जोड्न यस्ता कार्यक्रमले मद्दत पुग्छ।”
आयरल्यान्डका कलाकार लोरा मर्फीले नेपाली कलाकारसँगै प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूहरू उत्साहित भएको बताइन्। उनले पोखरा र यस आसपासका क्षेत्रका कलाकारलाई अन्तर्राष्ट्रियस्तरका कलाकारसँग जोड्न आफूले पहल गर्दै आएको बताइन्। प्रदर्शनीमा सहभागी हुने विदेशी कलाकारको संयोजन मर्फीले गरेकी हुन्।
पोखरा ९‚ नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको सिर्जनशील कलाकार समूहका अध्यक्ष डीबी गुरुङले बताए। प्रदर्शनीमा नेपाली ३३ र अमेरिका,अस्ट्रेलिया, बेलायत, डेनमार्क, क्यानडा र आयरल्यान्डका १५ कलाकारले सहभागिता जनाएका छन्।
नेपाली कला विश्वमाझ चिनाउन प्रदर्शनी
सात देशका कलाकारका ७० वटा कलाकृतिलाई प्रदर्शनीमा राखिएको हो। “यो प्रर्दशनी नेपाली कलाकार र उनीहरूका कलाकृतिलाई विश्वस्तरका कलाकारमाझ पुर्याउने माध्यम बन्नेछ‚” अध्यक्ष गुरुङले भने, “कलाकृतिलाई बिक्रीमा राखिने भएकाले नेपाली कलाकारलाई आर्थिक रूपमा लाभ पुग्नेछ।” प्रदर्शनी तीन दिन चल्नेछ। बिहान १० देखि ५ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिनेछ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राधिका कँडेलले नेपाली कला र कलाकारलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने र कलामार्फत संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यलले प्रदर्शनीको आयोजना गरिएको बताइन्।
प्रदर्शनीसँगै कलाकृतिलाई बिक्रीमा पनि राखिएको उनले बताइन्। गत वर्ष भएको प्रदर्शनीमा विदेशी कलाकारले महँगो मूल्यमा नेपाली कलाकृति खरिद गरेको उनले सुनाइन्। प्रतिष्ठानले कला प्रवर्द्धनका कार्यक्रममा जोड दिँदै आएको प्राज्ञ सदस्य कँडेलले बताइन्। राजधानी र ठुला सहरमा मात्र हुँदै आएका ललितकलासम्बन्धी कार्यक्रमलाई विकेन्द्रित गर्ने प्रयास गरिएको उनको भनाइ छ।
व्यावसायिक रूपमा चित्रकला सफल विधा भएकाले नयाँ पुस्तालाई ललितकला अध्ययनमा प्रेरित गर्नुपर्ने उनले बताइन् । दोस्रो चरणको प्रदर्शनी आगामी १० माघदेखि सुरु हुने आयोजक सिर्जनशील कलाकार समूह पोखराले जनाएको छ। उक्त प्रदर्शनीमा २० विदेशी कलाकारसहित नेपाली कलाकारले सहभागिता जनाउनेछन्।