काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन गरेको आग्रह महामन्त्री गगनकुमार थापाले अस्वीकार गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार साँझ बसेको कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशनको कार्यसूची आइसकेकाले विशेष महाधिवेशन आवश्यक नरहेको तर्क गर्दै प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। तर महामन्त्री थापाले उक्त आग्रह अस्वीकार गरेका हुन्।
बैठकमा धारणा राख्दै थापाले नियमित महाधिवेशनको क्यालेन्डर घोषणा भइसकेपछि विशेष महाधिवेशनको अर्थ रहँदैन भन्ने भनाइ मागको मूल भावनाविपरीत हुने बताए। “चुनावअघि नै नेतृत्व परिवर्तनको मागलाई नियमित महाधिवेशनको अल्झो हालेर पन्छाउन मिल्दैन,” थापाको भनाइ थियो।
उनले पार्टीलाई प्रक्रियाबाहिर राख्ने सोच घातक हुन सक्ने चेतावनी पनि दिए। प्रक्रियामा नछिरी अवैधानिक बाटो खोज्नु पार्टीका लागि दीर्घकालीन रूपमा नोक्सानदायी हुने थापाको तर्क थियो।