काठमाडौँ। मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफ्नो निर्णयलाई आत्मसम्मान र सिद्धान्तसँग जोड्दै सरकारभन्दा जनता ठूलो हुने स्पष्ट सन्देश दिएका छन्।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, “पद अस्थायी हुन्छ, तर मूल्य र सिद्धान्त स्थायी हुन्छन्। कुर्सीभन्दा माथि आत्मसम्मान र सरकारभन्दा माथि जनता हुन्छन्।”
राजीनामा जिम्मेवारीबाट पन्छिने प्रयास नभएको जिकिर गर्दै उनले यो निर्णय आफ्नो नैतिकता र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता भएको बताए।
“यो न भाग्ने निर्णय हो, न जिम्मेवारीबाट विमुख हुने प्रयास,” उनले स्पष्ट पारे, “यो मेरो आत्मसम्मान, सिद्धान्त र जनताको पक्षमा उभिने अडान हो।”
घिसिङले पदमा रहँदा मात्र होइन, पदबाहिर रहँदा पनि देश र जनताको हितमा आवाज उठाउनु आफ्नो कर्तव्य भएको उल्लेख गरे।
“पदले होइन, नियतले सेवा गर्छ,” उनको भनाइ थियो।