काठमाडौँ। कुलमान घिसिङले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले बाँडफाँड गरेकी छन्।
घिसिङले बुधबार पदबाट राजीनामा दिएपछि उनले सम्हालेका मन्त्रालयको जिम्मेवारी मौजुदा मन्त्रिपरिषद्का अन्य सदस्यलाई थपिएको हो।
राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार ऊर्जा‚ जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी कानुन‚ न्याय तथा संसदीय मामिला एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हालाई थपिएको छ।
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभारसमेत वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले र सहरी विकास मन्त्रालयको कार्यभारसमेत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले सम्हाल्नेछन्।
प्रधानमन्त्रीको सिफारिसमा उनीहरूलाई जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
