विकटमा सुविधा
सडक सञ्जालले नछोएको र अझै सडक जोडिने सुरसार नभएको गोरखाको चुमनुब्री ७‚ छेकम्पारको साँघुरो गल्लीमा दोर्जे चीनबाट ल्याएको स्कुटर हाँकिरहेका छन्। पासाङ भने १८ लाख पर्ने ट्र्याक्टरलाई ३४ लाख रुपैयाँ भाडा तिरेर हेलिकोप्टरबाटै गाउँ भित्र्याए।
गोरखा। केही दिनका लागि चीन सरकारले छेकम्पारमा पर्ने मुलाढाज्यान नाका खुल्ला गर्यो। एक वर्षदेखि बन्द रहेको नाका खुला हुनासाथ छेकम्पारका बासिन्दा सरसामान किन्न तिब्बती बजार स्याक पुगे। त्यही टोलीमा थिए छेकम गाउँका दोर्जे लामा।
त्यहाँ उनले तिब्बती गाउँबस्तीका बासिन्दाको दिनचर्या नियाले। सबैजना यातायातका साधन प्रयोग गरेको देखेर उनी प्रभावित भए।
“तिब्बत जाँदा त्यहाँ मान्छेहरु घाँस काट्न जान परे पनि, गोठमा जाँदा पनि, बाहिरफेर जताततै हिँड्दा पनि बाइक वा स्कुटर चलाएर हिँडेको देखेँ। उताको जमिन र हाम्रो छेकम्पारको जमिन उस्तै त हो, डाँडाकाँडा, भिर-पखेरा। यता पनि कसो नचल्ला त भनेर विचार गरेँ,” दोर्जे भन्छन्, “पसलमा गएर भाउ सोधेको एक लाखमा बिजुलीबाट चार्ज गर्न मिल्ने स्कुटर आउँदो रहेछ। अनि जसोहोला होला, विचार गर्नुपर्यो भनेर एउटा किनेर ल्याएको हुँ।”
स्याकसम्म सडक भए पनि छेकम्पारसम्म स्कुटर ल्याउन सडक थिएन। न त उनीसँग स्कुटर चलाउने सीप नै थियो। मान्छे, खच्चड, याक, चौँरी मात्र जसोतसो हिँड्न मिल्ने बाटोमा स्कुटर ल्याउन पनि उनले धेरै नै मिहिनेत गर्नुपर्यो।
“उता (तिब्बत) बाट आउँदा उकालोमा हामी चार-पाँचजनाले बोक्यौँ, सजिलो बाटोमा कतै डोर्याउँदै, कतै एकजना चढ्ने, अरूले समात्ने गर्दै ल्याइपुर्यायौँ,” उनले भने, “ल्याउँदा-ल्याउँदै बाटोमै स्कुटर चलाउन जान्ने भइयो।”
हिमालपारि छेकम्पारमा यसरी स्कुटर चलाउने लामा पहिलो व्यक्ति भएका छन्। अचेल उनी स्कुटर हाँकेर गाउँघर डुल्छन्। सडक सञ्जालले नछोएको र अझै सडक जोडिने सुरसार नभएको चुमनुब्री ७‚ छेकम्पारको साँघुरो गल्लीमा दोर्जे चीनबाट ल्याएको स्कुटर हाँकिरहेका छन्।
घोडा चढेर गाउँघर, वनजंगल आवतजावत गर्ने छेकम्पारका बासिन्दाबीच दोर्जे विद्युतीय स्कुटरमा सवार भएको देख्दा स्थानीय पनि दंग छन्। “अहिले त मेरो मात्रै छ। सबैजनाले हामी पनि चढ्छौँ नि भनेर मागेर हैरान पार्छन्। चलाउन जान्दैनन्। बिगारिदिन्छन् झैँ लाग्छ,” दोर्जे भन्छन्, “अब आउँदो साल त अरूले पनि स्कुटर किन्ने भनेका छन्। अब गाउँमा सिँडी नबनाउने बरु स्कुटर चढ्ने सडक बनाउने निर्णय भइसक्यो।”
छेकम्पारकै लामा गाउँका पासाङ फुन्जो लामाले भने विगत एक दशकअघि गाउँमा ट्र्याक्टर भित्र्याएका थिए। लामा चुमनुब्री ७ का निवर्तमान वडाध्यक्ष पनि हुन्। सडकले नछोएको छेकम्पारमा लामाले भूकम्पपछि २०७२ सालमा १८ लाख पर्ने ट्र्याक्टर ३४ लाख रुपैयाँ भाडा तिरेर हेलिकोप्टरमार्फत गाउँ पुर्याएका थिए। ट्र्याक्टरका लागि आवश्यक पर्ने इन्धन भने उनले गोरखाकै आरुघाट, आर्खेतबाट खच्चडमार्फत ल्याउँछन्।
पासाङको ट्र्याक्टरमा निर्माण सामग्री ढुवानी गरी लामा गाउँमा गुम्बा र विद्यालय निर्माण भएका छन्। ट्र्याक्टर भने स्थानीय साम्डु लामाले चलाउने गरेका छन्।
ट्र्याक्टर छेकम्पारको उकालोओरालोमा सजिलै आवतजावत गर्ने गरेको पासाङको भनाइ छ। उनी भन्छन्, “यसबाट खासै आम्दानी त हुँदैन तर यहाँ पूर्वाधार निर्माणका काममा निकै सजिलो भएको छ।” छेकम्पारसम्म सडक आउला र नजिकका गाउँबस्तीमा पनि सजिलै ट्र्याक्टरमा सामान ढुवानी गर्न पाउँला भन्ने अपेक्षा पासाङफुन्जोलगायत सम्पूर्ण छेकम्पारवासीको छ। -रासस