काठमाडौँ
००:००:००
२५ पुष २०८२, शुक्रबार

२४ पुष २०८२
अ+
अ-

काठमार्डौं । अमेरिकी अधिकारीहरूले भेनेजुएलाका लागि तेल ढुवानी गरिरहेको एउटा ट्याङ्करलाई समुद्रमै कब्जामा लिएको बताएका छन्।

एट्लान्टिक सागरमा रहेको उक्त ट्याङ्करको सुरक्षाका लागि रुसले पनडुब्बी तथा अन्य पानीजहाजहरू अघि–पछाडि परिचालन गरेको विवरण यसअघि सार्वजनिक भएको थियो।

अमेरिकी तटरक्षक बलले अमेरिकी प्रतिबन्धको उल्लङ्घन गरेको आरोप लगाउँदै उक्त जहाजलाई गत महिनामै नियन्त्रणमा लिने प्रयास गरेको थियो। जहाज भेनेजुएलातर्फ जाँदै गर्दा कारबाही गरिएको बताइएको छ।

इरानी तेल ओसारेको आरोपमा अमेरिकी प्रतिबन्धको सूचीमा परेको यो ट्याङ्करले यसअघि पनि भेनेजुएलाको तेल ढुवानी गर्दै आएको जनाइएको छ।

अमेरिकाले कब्जामा लिने चेतावनी दिएपछि जहाजले आफ्नो नाम ‘बेला वन’बाट परिवर्तन गरी ‘मारिनेरा’ राखेको थियो। साथै, जहाजमा फहराइएको गायनाको झण्डा हटाएर रुसको झण्डा राखिएको थियो।

बीबीसीका अनुसार भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोमाथि अमेरिकी दबाब बढेपछि प्रतिबन्धमा परेका कम्तीमा तीनवटा ट्याङ्कर रुसमा दर्ता भएका छन्।

डिसेम्बरमा पहिलो ट्याङ्कर अमेरिकी नियन्त्रणमा परेपछि हालसम्म १७ वटा ट्याङ्करले आफ्नो दर्ता परिवर्तन गरिसकेको बताइएको छ।