काठमाडौँ
००:००:००
२५ पुष २०८२, शुक्रबार

दृष्टिकोण

शिवको छलबाट गोमालाई अन्याय भोगाए, तर कथाको अन्त्यमा गोमालाई महारानी बनाए, त्यो पनि विनाराजाको। नारीलाई अगाडि बढ्न नारीकै आत्मबल प्रमुख हुन्छ भन्ने कुरा कथाकारले देखाएका छन्।

२४ पुष २०८२
अ+
अ-

सबैभन्दा दोहोर्‍याएर पढेको पुस्तक कुन हो भनेर कसैले सोधे म फ्याट्ट भन्न सक्छु– श्रीस्वस्थानी व्रतकथा। मैले पढ्न थालेको पनि करिब ४० वर्ष भएछ। यो धार्मिक-साहित्यिक कृतिबारे धेरै विवाद पनि छन्। बहसका विषय पनि बग्रेल्ती नै छन्। उमेरको यो बिसौनीमा आएर पुनः पुस्तक पढ्दा लाग्यो, यहाँभित्रका कथाहरूले गहिरो अर्थ बोकेका छन्।

स्वस्थानी व्रतकथामा पृथक् पृथक् समाज छ। मान्छेको फरक फरक चरित्र छ। सम्बन्धको वास्तविकता छ। युद्ध छ। शान्ति छ। सहयोग छ। सद्भाव छ। विश्वास छ। शंका छ। त्याग छ। तपस्या छ। तिरस्कार, सत्ता र शक्तिको उन्माद, संघर्ष, कर्तव्य, ज्ञान, विज्ञान, न्याय, अन्याय, सत्य, असत्य, जित, हार छ। दर्शन छ। बोध छ।

शिव भट्ट ब्राह्मण र पाँच वर्षकी गोमासँग डराएका त हुन् नि भगवान्‌हरू। नत्र किन त्यत्रो दुःख दिन्थे र!

मेरी माइलीआमा भन्नुहुन्थ्यो, ‘नानी स्वस्थानी भनेकी श्वासकी देवी हुन्। जसले श्वासलाई बुझ्छ। चिन्छ। श्वासको लयमा बग्छ उसको जीवन शान्त हुन्छ।’

मेरो यी कुरा बुझ्ने उमेर भएकै थिएन। त्यसैले पनि म सानै उमेरमा आमासँग प्रश्न गरिरहन्थेँ। ‘आमा! किन भगवान्‌हरूले पनि छल गरेका? त्यो सानी गोमालाई किन सरापेका?’

मलाई गोमाको उल्कै माया लागेर आउँथ्यो। आँगनको पूर्वतिर आँपको अग्लो रूख थियो। म देख्थेँ शिव शर्मा ब्राह्मणलाई त्यो रूख चढेको। पिटिक्क हाँगो भाँचिएको। रूखदेखि खसेर भुतक्कै भएको। बूढा शिव शर्माको आकृतिले आज पनि मलाई तर्साउँछ।

कथाकारले बयान गरेको घिनलाग्दो शिव शर्माको रूप। बूढो शरीर खोरन्डो, आँखामा कचेरा लागेको, र्‍याल चुहाउँदै हिँड्ने, आँखीभौँ पाकेको, कान नसुन्ने, डेडो। कस्तो विद्रुप चित्र। गोमाको त्यो दिव्य स्वरूप आहा! तर, त्यो अनमेल विवाहले मलाई ठूलो पीडा दिन्थ्यो।

कथाहरू पढ्दै जाँदा चित्त बुझ्दैनथ्यो। अनि आमालाई पुनः सोध्थेँ, ‘आमा! भगवान् पनि मान्छेसँग डराउँछन् हो?’

‘कोसँग डराउनु नि भगवान् पनि?’ आमा झर्किंदै भन्नुहुन्थ्यो।

म भन्थेँ, ‘शिव भट्ट ब्राह्मण र पाँच वर्षकी गोमासँग डराएका त हुन् नि भगवान्‌हरू। नत्र किन त्यत्रो दुःख दिन्थे र! साँच्चै कतै हामीसँग पनि भगवान् डराएका त होइनन् आमा? नत्र हाम्रा बुवालाई पनि त भगवान्‌ले बचाउन सक्थे होलान् नि!’

स्वयं सृष्टि, स्थिति र प्रलयकर्ता पनि नारीविना कति अपुरो रहेछन्। कति अशान्त रहेछन्।

मेरो कुरा सुनेर आमा भन्नुहुन्थ्यो, ‘नानी, कलियुगमा भगवान्, भगवान् मात्र भएर बसिरहन सक्दैनन्। भगवान् पनि मान्छे हुन सक्छन् त्यसैले छल गरेका होलान्।’

प्रश्नहरू त अझ बाँकी नै छन्!

जहाँ नारीलाई नै हेला, उपेक्षा, दमन, शोषण गरिएको छ, त्यही कथामा स्वस्थानीदेवीको पूजा गरिन्छ भन्ने भाव पनि उठेको छ। स्वस्थानी कथा पढिरहँदा म जड बन्न सक्दिनँ। अर्थभित्र पनि अर्थ लगाउन थाल्छु।

घरीघरी यस्तो लाग्छ, स्वस्थानीभित्र नारी शक्तिको अथाह कथा छ।

स्वस्थानी कथाका लेखक पक्कै पुरुष नै हुन्, तर कथामा नारीहरू हेपिएका मात्र छैनन्। अन्यायमा मात्र परेका छैनन्। नारीलाई महान् र शक्तिशाली पनि देखाएका छन्।

शिवजीको सतीप्रतिको आकर्षणले नै नारीको महत्त्व हामी बुझ्न सक्छौँ।

दक्षप्रजापतिका तेत्तीसकोटि कन्या तेत्तीसकोटि देवतालाई कन्यादान दिएपछि भगवान् आशुतोषले सतीलाई प्राप्त गर्न रचेको प्रपञ्च देख्दा म दंग पर्छु। स्वयं सृष्टि, स्थिति र प्रलयकर्ता पनि नारीविना कति अपुरो रहेछन्। कति अशान्त रहेछन्।

नारीलाई महत्त्व नदिएका भए कथाकारले सतीदेवी पाउन शिवजीभित्रको त्यो तड्पन किन लेख्थे होलान् र? शिव त शक्तिशाली थिए, पूर्ण थिए, तर पनि उनलाई किन सतीको खाँचो महसुस भयो? सतीप्राप्तिका लागि दक्षप्रजापतिको घर गए शिव। तर, जब कुनै उपाय लागेन अनि शिवजी निराश भएर विष्णु भगवान्‌निकट गएर भन्छन्, ‘हे विष्णु! मेरी स्त्री छैनन्, जसका स्त्री छैनन् त्यसको घर छैन। स्त्री नहुने कहिले सुखी हुँदैन। अब जसो गरेर हुन्छ सती दक्षकन्या मलाई पारिदिने उपाय गर्नुपर्‍यो…।

मलाई यस्तो लाग्यो– सती अबला कुनै पनि हालतमा छैनन्। जसले रिसलाई विजय गरेको छ, त्यो कसरी निरीह पात्र हुन सक्छ! मलाई त शिवजी नै कमजोर लाग्यो।

सर्वशक्तिमान् शिवले सतीलाई हरण गरेर पनि त लैजान सक्थे! तर, सतीदेवीलाई ससम्मान पिताकै हातबाट विधिपूर्वक ल्याउन चाहेको कथाले भन्छ। धम्क्याएर, लतारेर हरण गरेर ल्याउँदा सतीले तिरस्कार गर्न सक्ने डर शिवलाई थियो। सतीप्रतिको मोहले शिवलाई भगवान्‌बाट आम मान्छे बन्न विवश गर्‍यो। भगवान्‌ गुण त्यागेर शिव प्रपञ्ची बने। स्त्रीको कामनामा शिवले छलको अस्त्र प्रयोग गरे। नारी कमजोर र हेयको चीज हुन्थे त शिवले आफ्नो उचाइबाट झरेर किन छल, कपटको मार्ग समाते?

बिहे गरेर घर ल्याएपछि शिवजीले सतीको परीक्षा लिएको कथा छ। मलाई जहाँसम्म लाग्छ, सतीलाई सत्यबोध भइसकेको थियो। असत्यमा बाँचेको मान्छे अधीर हुन्छन्। तर, शिव सतीको त्यो प्रशान्त चित्त देखेर डराए।

सन् १८१९ मा नेपालभाषामा लेखिएको स्वस्थानीको पाण्डुलिपि बायाँपट्टि स्वस्थानी व्रतकथा किताब

शिवलाई शान्त बस्न विष, भाङ, धतुरोको आवश्यकता पर्‍यो, तर सती आनन्दमा थिइन्। नशामा लट्ठ डुबेर आँगनमा चार दिनदेखि लम्पसार परेर सुतेका शिवजीको गोडामुनि सती जागा बसिरहिन्। रोइनन्। आफ्ना पिताको दरबारसँग झुप्रोको तुलना पनि गरिनन्। आफ्नो भाग्यलाई दोष पनि दिइनन्। तर, कथाकारले तत्कालीन समाजको आकांक्षाबमोजिम सतीको शक्तिलाई ओझेल पार्दै कथा लेखे।

शिवजी सतीलाई क्रोधाग्निले हेर्छन्। र, उपेक्षापूर्वक बोल्छन्, ‘हे पापिनी स्त्री! मलाई बाहिर सुतेको सुत्यै छाडेर आफू भित्र सुतिस्, त्यसो गरे तापनि तँलाई केही खानु पर्दैनथ्यो? के खाइस्? कि खाइनस्?’ भनेर हप्काए। तर पनि, सतीदेवी हँसिलो मुख गरेर बोल्छिन्…।

यहाँ मलाई यस्तो लाग्यो– सती अबला कुनै पनि हालतमा छैनन्। जसले रिसलाई विजय गरेको छ, त्यो कसरी निरीह पात्र हुन सक्छ! मलाई त शिवजी नै कमजोर लाग्यो। जो संयम धारण गर्न असमर्थ छन्। शान्तिभन्दा परम अस्त्र र अपार सम्पति अरू के नै हुन सक्छ?

मलाई लाग्छ– सतीले देखिसकेकी थिइन् कैलाशको त्यो दिव्य महल। तर, लेखक सतीको चेतनाको उपल्लो तह लेख्न चाहँदैनन्। सतीलाई नारीकै सीमामा बाँधेर राख्न चाहन्छन्।

सती भन्छिन्, ‘हे स्वामी! हजुर निद्रामा मगनमस्त भएको देखेर जागा गराउन सकिनँ, म पनि सुतेकी छैन, यहाँ आएर बसिरहेकी छु। मैले त भण्डारमा जे भएको मिष्ठान्नहरू खाएँ, अब हजुरले के खानुहुन्छ?’ यहाँ शिवको छातीमा अर्को त्रिशूल रोपिन्छ। जसको परीक्षा लिन खडा भएका थिए शिव, सती उनकै परीक्षा लिँदै छिन्।

सतीको हृदय शान्त र स्थिर थियो अनि पो शिवको दुर्वाच्यले पनि कुनै असर गरेन। सतीले प्रतिवाद गरिनन्। अनि पुरुष पात्रको दम्भ खेर गयो। उसको शक्ति वृथा भयो। शिवको तुच्छ वाणीले सतीमा कुनै परिवर्तन आएन। स्थिर भएर जब सती मृदु मुस्कानसहित बोलिन्, तब शिवको अहंकारमाथि अर्को चट्याङ खस्यो।

शक्तिमा अन्धो भएको सत्ता मुस्कानदेखि डराउँछ। उसलाई आँसु प्रिय लाग्छ। हाँसो पचाउन कठिन। सती रोएकी भए सायद शिव उति डराउँदैनथे होलान्।

कथाकारले शिवको आडमा समाज र अशान्त मान्छेको चरित्र देखाएका छन्। आफ्नो जातको वास्तविक रूप भगवान्‌को चरित्रमा देखाएका छन्। लेखक शिवको आतंक यसरी लेख्छन्, ‘आफू रिसाएर बोल्दा पनि हँसिलो मुख पारेर शृङ्गारले युक्त भएको मीठो र मधुरो बोली बोलेको सुनेर महादेवलाई दया आयो र प्रेमपूर्वक भने…।’

तर, यहाँ दया र प्रेमको कुरै छैन। शिवजीको सातो गएको छ। नारीभित्रको स्थिरता, धीरता र सहनशीलता देखेर शिव हच्किएका छन्।

सतीको शक्तिमा शिव हल्लिन्छन् र खरको झुप्रोमा लात्ती हान्छन्। मलाई लाग्छ– सतीले देखिसकेकी थिइन् कैलाशको त्यो दिव्य महल। तर, लेखक सतीको चेतनाको उपल्लो तह लेख्न चाहँदैनन्। सतीलाई नारीकै सीमामा बाँधेर राख्न चाहन्छन्।

सतीको मृत्युपछि, सतीको काम सम्झिएर सदाशिव भक्कानिएका छन्। सतीको मृत्युमा आम मान्छे रोएजसरी रोएका छन्। मुड्कीले छातीमा ठोक्दै बलिन्द्र धारा आँसु बगाउँदै शिवजी भन्छन्, ‘विष, भाङ, धतुरो मेरा स्वामीले खाने वस्तु हो भनेर हित भावले रक्षा गरेर राख्थ्यौ, अब ती सबैको रक्षा कसले गरिदेला? फेरि बाहिर गएर आउँदा हातमा कमण्डलु लिएर मेरो पाउ धुन चाँडै आउँथ्यौ, अब को धोइदेला? हे प्यारी सती, तिमी नभई मेरो यो चित्त कसरी दृढ भएर रहला…।’

मलाई लाग्छ– शक्तिको दम्भ र समाजको प्रतिविम्ब यो स्वस्थानी कथामा छर्लङ्ङ छ।

शिव बौलाहाजस्तो भएर सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्न थाल्छन्।

शिवभन्दा शक्तिशाली त विरहणी रहिछन्। दक्षप्रजापतिलाई जीवन दान दिन सक्ने शिवजी कसरी हारे सतीको मृत्युमा? शक्तिशाली भएर पनि शिवले सतीलाई किन ब्युँताउन सकेनन्? मलाई यो प्रश्नले सानैदेखि हल्लाउँथ्यो। लाग्थ्यो, भगवान्‌भन्दा सामर्थ्यवान् त नारी पो रहिछन्। विरहणीको शक्तिबाट शिव पराजित भए।

अब गोमाको गाउँतिर जाऊँ। गोमा पात्रमा त्यो चेतना भर्ने कथाकारलाई नमन छ। कथाकारले नारी शक्तिलाई न्याय नै गरेका छन्। सात वर्षकी गोमाको बौद्धिकतामा पाठकलाई नतमस्तक बनाएका छन्। गोमाको संघर्ष खेर जान दिएका छैनन्। शिवको छलबाट गोमालाई अन्याय भोगाए, तर कथाको अन्त्यमा गोमालाई महारानी बनाए, त्यो पनि विनाराजाको। नारीलाई अगाडि बढ्न नारीकै आत्मबल प्रमुख हुन्छ भन्ने कुरा कथाकारले देखाएका छन्।

जब आफ्ना श्रीमान् गोमालाई कन्यादान दिन ७० वर्षका कुरूप शिव शर्मालाई घरभित्र लिएर आउँछन्, तब सती ब्राह्मणी भन्छिन्, ‘सर्वगुणसम्पन्न मेरी छोरी कुनै पनि हालतमा त्यो बूढोलाई दिन्नँ… म अनमेल विवाहको विरोध गर्छु… अर्काले कन्या दिएन भनेर जतिले हत्या गरेर मर्लान्, त्यो हत्या हामीलाई लाग्छ? कदापि तपाईंलाई त्यो कुराको भय या सन्देह छ भने त्यो हत्या गरी मरोस्, त्यो पाप म आफ्नो कपालमा थापुँली। त्यस्ता घुर्कीले डराउनुपर्दैन। त्यसलाई त हजार ब्रह्महत्या लागे पनि म कन्या दिनेछैन,’ सती ब्राह्मणी अगाडि भन्छिन्, ‘पृथ्वीमा अरू कोही ब्राह्मण छैनन् कि? तपाईंले खोज्न नसकेको हो भने म गएर खोजेर ल्याउँछु।’

सती ब्राह्मणीमा कत्रो आत्मविश्वास। कत्रो आँट। मलाई लाग्छ– शक्तिको दम्भ र समाजको प्रतिविम्ब यो स्वस्थानी कथामा छर्लङ्ङ छ।