काठमाडौँ। सरकारले भेनेजुएलाको घटनाक्रम नजिकबाट नियालिरहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र तनाव बढाउने कार्यबाट बच्न आह्वान गरेको छ।
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई शनिबार नियन्त्रणमा लिएर अमेरिका पुर्याएको थियो।
नेपालका राजनीतिक दलहरूले अमेरिकाले एक सार्वभौम मुलुकको राष्ट्र प्रमुखलाई नियन्त्रणमा लिएको घटनाको विरोध जनाएका थिए। साथै काठमाडौँमा अमेरिकाविरुद्ध प्रदर्शनसमेत भएको थियो।
“नेपालले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने महत्त्वलाई जोड दिन्छ‚” विज्ञप्तिमा भनिएको छ।
साथै विज्ञप्तिमा नेपालले संवाद, कूटनीति र पारस्परिक समझदारीमार्फत विवादहरू शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्ने कुरामा जोड दिने पनि उल्लेख छ।