काठमाडौँ। आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ।
आर्सनल घरेलु मैदानमा गोलरहित बराबरीमा रोकिएको हो। खेलमा आर्सनलका कुल ५ प्रहार विपक्षी गोलकिपर एलिसनले बचाएका थिए।
यस नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमायो। तर, अहिले पनि आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ६ अंकले अगाडि छ।
आर्सनलको २१ खेलबाट ४९ अंक भएको छ। लगातार १०औँ खेलसम्म अपराजित यात्रा कायम राखेको लिभरपुल भने समान खेलबाट ३५ अंकका साथ चौथो स्थानमा छ।
त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको सिटीको ४३ अंक छ भने तेस्रो स्थानको एस्टन भिल्ला पनि ४३ अंकमा छ।