काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

२५ पुष २०८२
फाइल तस्बिर
अ+
अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुने आशंका र भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जाल ‘एक्स’मार्फत् धारणा सार्वजनिक गर्दै शर्माले पार्टी फुटको भय फैलाइरहनु निराधार भएको स्पष्ट पारेका छन्। उनले लेखेका छन्, “फुट्ने भय र भ्रम नराख्न फेरि पनि सबैलाई नम्र आग्रह।” साथै उनले दोस्रो विशेष महाधिवेशन बदलिएको समयअनुसार काँग्रेसलाई रूपान्तरण गर्न र देशलाई परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरेका छन्।

महामन्त्री शर्माले अर्का महामन्त्री गगन थापाले दिएको ‘पार्टी एकताका लागि विष पिउन तयार’ भन्ने अभिव्यक्ति र आफ्नो ‘पार्टी विभाजन भए हलबाट बाहिरिने’ भनाइबारे पनि प्रष्टिकरण दिएका छन्।

उनका अनुसार ती अभिव्यक्तिको आशय विशेष महाधिवेशन सुनिश्चित भए पनि पार्टी विभाजन नहुने स्पष्ट सन्देश दिनु हो। शर्माले लेखेका छन्, “पार्टी एकता जोगाउन विष पिउन तयार, विभाजन हुन लागे हलबाट बाहिरिने भनेको– विशेष महाधिवेशन हुन्छ, तर पार्टी फुट्दैन भन्ने सन्देश हो।”

उनले विशेष महाधिवेशनलाई पार्टीलाई सुदृढ बनाउने अवसरका रूपमा लिन आग्रह गर्दै विभाजनको हल्लाले कांग्रेसलाई कमजोर बनाउने चेतावनीसमेत दिएका छन्।