राजनीति
बालेनसँगको सहमति कार्यान्वयन गरिसकेको रास्वपामा कुलमानसँगको सहमति ‘होल्ड’
कुलमान घिसिङको असन्तुष्टिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीचको एकताको सहमति कार्यान्वयनमा संशय पैदा भएको छ। दुई दलबीच एकताको सहमति भएको दुई साता बित्न लाग्दा पनि एकता प्रक्रिया टुंगिन ढिलाइ भएको छ।
१४ पुसमा रास्वपा र उनेपाबीच एकताका लागि सातबुँदे सहमति भएको थियो। एक दिनअघि १३ पुसमा रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको सहमतिअनुसार रास्वपाको केन्द्रीय सदस्य र पदाधिकारीको टुंगो लागिसकेको छ। तर, कुलमानले रास्वपामा भागबन्डा खोज्दा उनेपासँगको सहमति कार्यान्वयन भएको छैन।
उज्यालो नेपालका संरक्षकका रूपमा रहेका कुलमान रास्वपाको वरिष्ठ उपसभापति रहने सहमति थियो। उज्यालो नेपालकै एक नेताका अनुसार रवि, बालेन्द्र र कुलमानबीच आगामी प्रतिनिधिसभा सदस्यका लागि उमेदवार छनोट गर्दा १६५ निर्वाचन क्षेत्रमा जुनसुकै समूहका भए पनि जित्न सक्ने मान्छे छान्ने आन्तरिक सहमति भएको थियो। तर, कुलमानले प्रतिनिधिसभा सदस्यका उम्मेदवार छान्दा भागबन्डाका आधारमा छानिनुपर्ने नयाँ अडान लिएका छन्।
रास्वपासँगको आन्तरिक सहमतिमा उज्यालो नेपालका तर्फबाट एक जना सहप्रवक्ता र एक जना सहमहामन्त्री बनाउने अनि पाँच महिनापछि महाधिवेशन गरेर पदाधिकारी चयन गर्ने पनि सहमति भएको थियो। तर, कुलमानले अहिले रास्वपाको पदाधिकारी चयनमा पनि असन्तुष्टि जनाएका छन्। यिनै कारण दुई दलबीचको लिखित सहमति कार्यान्वयनमा विलम्ब भएको हो।
रास्वपा र उनेपाबीचको सातबुँदे सहमतिमा उज्यालो नेपालको अभियानलाई रास्वपाले अपनत्व लिने उल्लेख छ। त्यस्तै, रास्वपामा उज्यालो नेपालमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने उल्लेख थियो।

रास्वपा र उनेपाबीचको एकता सहमतिपत्रमा हस्ताक्षर गरेपछि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ
उज्यालो नेपालका एक नेताका अनुसार रास्वपाको समानुपातिक सूची बुझाउँदा नातामा कुलमानका ससुरा धर्मलाल तामाङ र भान्जा राम लामा पनि परेपछि रास्वपाभित्र त्यसबारे छलफल भएको थियो। छलफलका क्रममा कुलमानले नाम सच्याउने प्रतिबद्धता जनाएका थिए, तर पछि नाम फिर्ता गर्नुको साटो ससुरा र साला पर्ने भनिएका व्यक्तिहरू आफ्नै परिवारभित्रको नभएको भन्दै उनले स्पष्टीकरण दिए। त्यसले उज्यालो नेपालका नेताहरू नै असन्तुष्ट बने। एक नेता भन्छन्, “जेन-जी आन्दोलनपछि सुशासनका लागि भनेर आएका हामी व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ भनेर नयाँ शक्तिहरूसँग एकजुट भइरहेका छौँ। तर, पुरानै दलको जस्तो शैली अपनाउन खोज्दा समस्या भइरहेको छ।”
त्यसो त उज्यालो नेपालका केही सदस्यहरू रास्वपासँग एकाएक समायोजनमा जाँदा कुलमानसँग असन्तुष्ट छन्। उनीहरूले उज्यालो नेपालले देशव्यापी रूपमा संगठन विस्तार गरिरहेको र जनसमर्थन पनि राम्रो पाएको भन्दै अझै पनि उज्यालो नेपाललाई सक्रिय बनाउनुपर्ने माग गरिरहेका छन्। उज्यालो नेपालबाटै २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनुपर्ने उनीहरूको माग छ। उज्यालोकै अर्का एक नेता कुलमानका परिवारका सदस्यहरूले नै उज्यालो नेपाल सक्रिय बनाउने भन्दै घुर्की लगाइरहेको बताउँछन्। उनी भन्छन्, “पार्टीभित्र भने रास्वपासँग समायोजन प्रक्रियामा गइसकेकाले पछाडि फर्किनुहुन्न भन्नेको बहुमत छ।”
उज्यालो नेपालका नेता महेन्द्रसुन्दर लावती भने रास्वपामा समायोजन हुँदा केन्द्रीय सदस्यहरू २१ जना वा २६ जना कति समावेश गर्ने विषयमा छलफल भइरहेको बताउँछन्। रास्वपाको समानुपातिक सूचीमा नाम परे पनि आफैँले नाम फिर्ता लिएका लावती भन्छन्, “सुरुमा राम्ररी सल्लाह नगरी नाम राखिएकाले मैले नबस्ने निर्णय गरेँ। अन्य साथीमा पनि सुरुमा अन्योल देखिएको थियो, तर अहिले समस्या मिलिसक्यो। समायोजनको प्रक्रिया चाँडै टुंगिनेमा आशावादी छौँ।”
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावल भने उज्यालो नेपालसँग समायोजन प्रक्रिया चलिरहेको र त्यसमा खासै ठूलो समस्या नरहेको बताउँछिन्। उज्यालो नेपालका सदस्यहरू रास्वपाको समानुपातिक सूचीमा रहिसकेकाले समायोजनमा समस्या रहेको भन्नु गलत हुने उनी बताउँछिन्। भन्छिन्, “कसरी अघि जाने भन्ने मोडालिटीमा छलफल भइरहेको छ, अरू कुनै समस्या छैन। चाँडै समायोजन प्रक्रिया सकिन्छ।”