आवरण
अवैध लागुऔषध बरामदले देखाउने उत्पादन र निकासीको भौगोलिक साइनो
गत २२ मंसिरमा मोरङको रतुवामाई नगरपालिका-१ हटियाडाँडाबाट ६७८ किलो गाँजासहित दुई जना पक्राउ परे। आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको ट्रक जाँच गर्दा गाँजा भेटिएपछि प्रहरीले धनकुटाको सहिदभूमि गाउँपालिका-२ का समेल राई र सोही गाउँपालिका-१ का विक्रम विशुंखेलाई पक्राउ गर्यो।
यसको एक साताअघि १६ मंसिरमा पर्साको पटेर्वा सुगौली गाउँपालिका रंगपुर टाडीबाट १०४ किलो गाँजासहित मकवानपुरको भीमफेदी गाउँपालिका-३ का भीम स्याङताङ र मकवानपुरगढी गाउँपालिका-२ का कुमार स्याङताङ पक्राउ परे। पर्साको मनवाबाट रंगपुर टाडीतर्फ आउँदै गरेको गाडीमा खानतलासी गर्दा १० बोरा गाँजा भेटिएको थियो।
नेपाल प्रहरीले १ वैशाख २०८१ देखि गत २९ मंसिरसम्मका १९ महिनामा जारी गरेका पाँच हजारभन्दा बढी बुलेटिनको अध्ययन गर्दा एकैचोटिमा १०० किलोभन्दा बढी गाँजा १०१ पटक बरामद भएको देखिन्छ।
८ मंसिरमा प्रहरीले झनै ठूलो परिमाणमा गाँजा बरामद गरेको थियो। सिरहाको लहान नगरपालिका-१ ट्राफिक चोकबाट १४ सय किलो गाँजासहित दुई जना पक्राउ परे। पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका-९ का टंक विश्वकर्मा र धनकुटाको छथर जोरपाटी गाउँपालिकाका खेम राना मगर थिए। प्रहरीले मिर्चैयाबाट रुपनीतर्फ जाँदै गरेको ट्रक जाँच गर्ने क्रममा चालक बस्ने क्याबिन पछाडि फल्स बटन बनाएर लुकाइएको अवस्थामा ३१ बोरा गाँजा बरामद गरेको थियो।
१२ असारमा वीरगन्ज महानगरपालिकाको परवानीपुर चोकबाट प्रहरीले ३१९ किलो चरेस बरामद गर्यो। परवानीपुरबाट सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको ट्रक जाँच गर्दा ढालामा लुकाइएको चरेस भेटिएको थियो। प्रहरीले ट्रक चालक मकवानपुरको थाहा नगरपालिकाका बुद्धिबहादुर स्याङतानलाई एक लाख ९२ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको थियो।
यसअघि २२ वैशाखमा बर्दियाको बाँसगढी नगरपालिका-१ चेपाङमा मोटरसाइकलमा साढे २१ किलो अफिम बोकेका दुई जना पक्राउ परे। पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिकाका भक्तबहादुर शाही र चितवनको राप्ती नगरपालिकाका कुमार तामाङ थिए।

प्रहरीले मोरङमा हवाई फायर गरी पक्राउ गरेको गाँजा कारोबारी। तस्बिर : नेपाल प्रहरी
माथिका विवरण यस वर्ष बरामद भएका प्रतिबन्धित लागुऔषधका केही उदाहरण मात्रै हुन्। नेपालन्युजले १ वैशाख २०८१ देखि २९ मंसिरसम्मका १९ महिनामा लागुऔषध बरामदको तथ्यांक अध्ययन गर्दा देशका कुन क्षेत्रमा कस्ता लागुऔषधको कारोबार र खेती हुन्छ भन्ने प्रस्ट तस्बिर देखिन्छ। तथ्यांक विश्लेषण गर्दा पूर्वी क्षेत्रमा गाँजाको खेती र कारोबार तथा मध्य र पश्चिम नेपालमा अफिम तथा चरेसको कारोबार हुने गरेको छ। मध्य र पश्चिम नेपालमा गाँजा र अफिमको खेती पनि हुने गरेको छ।
जानकारहरूका अनुसार भारतबाट नेपालमा सानो परिमाणमा ब्राउन सुगर र औषधिजन्य लागुऔषध भित्रिन्छ भने नेपालबाट मुख्य रूपमा गाँजा, चरेस र अफिम ठूलो परिमाणमा तस्करी हुने गरेको छ। नेपाली गाँजा बिहार, चरेस दिल्लीसहितका पश्चिम राज्य र अफिम उत्तर प्रदेश पुग्ने गरेको छ।
लागुऔषध तस्करीको परम्परा पछ्याउँदै अहिले पनि नेपालबाट भारतमा गाँजा तस्करी भइरहेको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोमा डेढ दशक काम गरेका पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन्। “नेपालबाट जाने गाँजाको संकलन बिहारमा हुन्छ, त्यहाँबाट भारतका विभिन्न ठाउँमा वितरण हुने हो,” उनी भन्छन्, “बिहारसँग जोडिएको नेपालका जिल्लाहरूमा लागुऔषध ओसारपसार गर्दा पक्राउ पर्नेको संख्या ठूलै छ।”
नारायणीपूर्व गाँजा
नेपाल प्रहरीले १ वैशाख २०८१ देखि गत २९ मंसिरसम्मका १९ महिनामा जारी गरेका पाँच हजारभन्दा बढी बुलेटिनको अध्ययन गर्दा एकैचोटिमा १०० किलोभन्दा बढी गाँजा १०१ पटक बरामद भएको देखिन्छ। २०८१ सालभरिमा ६० र यस वर्षको सात महिनामा ४१ पटक उक्त परिमाणको गाँजा बरामद गरिएको तथ्यांक छ।
सन् १९६० को दशकको अन्त्यदेखि १९८० को दशकसम्म नेपाल-भारत सीमाबाट हुने लागुऔषध र अन्य वस्तुको तस्करीमा कामदेवको पकड थियो।
यी घटना नारायणी नदीपूर्वका १५ वटा जिल्लामा भएका हुन्। जसमा मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, मकवानपुर, चितवन र धादिङ छन्। २०८१ सालमा बरामद कुल गाँजामध्ये सुनसरी, धनकुटा, महोत्तरी, बारा र मकवानपुरमा मात्रै ७० प्रतिशत बरामद भएको थियो। २०८२ सालमा मंसिर मसान्तसम्मको सात महिनामा १०० किलोभन्दा बढी गाँजा सुनसरीबाट सबैभन्दा बढी नौपटक बरामद भएको थियो।

सिरहाबाट बरामद लागुऔषध गाँजा। तस्बिर : नेपाल प्रहरी
मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा भारतको बिहारसँग सीमा जोडिएका जिल्ला हुन्। यी जिल्लामा ठूलो परिमाणमा गाँजा बरामद हुँदै आउनुले भारततर्फ निकासीका क्रममा बरामद भएको देखाउँछ।
नारायणी नदी पश्चिममा सानो परिमाणमा र फाट्टफुट्ट मात्रै गाँजा बरामद हुने गरेको छ। हामीले अध्ययन गरेको वैशाख २०८१ यताको १९ महिनाको तथ्यांक हेर्दा नारायणी पश्चिममा एकपटक मात्र ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिएको देखिन्छ। १५ साउन २०८१ मा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुलीस्थित हमाल चोकमा गाडी जाँचका क्रममा ७६९ किलो गाँजा बरामद गरिएको थियो। जसका चालक भने नारायणीपूर्वकै अर्थात् मकवानपुरको सिमानामा पर्ने चितवनको राप्ती नगरपालिका-२ का मदन लामा थिए।
अत्यधिक गाँजा बरामद गरिएका नारायणीपूर्वका १५ जिल्लामध्ये मकवानपुर, धादिङ, धनकुटा र उदयपुर गाँजाको उत्पादन क्षेत्र हुन् भने सुनसरी, बारा, महोत्तरीलगायत जिल्ला भारततर्फ निकासी हुने स्थान हुन्।
पूर्वडीआईजी मल्ल सन् १९७० कै दशकदेखि नेपालको गाँजा तस्करी गरेर भारतको बिहारमा संकलन गर्ने गरिएको बताउँछन्। “त्यसबेला बिहारमा कामदेव सिंह ठूला तस्कर थिए। तस्करीको त्यस परम्पराले अहिले पनि निरन्तरता पाइरहेको देखिन्छ,” उनी भन्छन्।
सन् १९८० मा भारतीय प्रहरीको कारबाहीमा मारिएका कामदेवलाई भारतमा ‘बिहारका पाब्लो इस्कोबार’ भनिन्छ। कोलम्बियाका पाब्लो इस्कोबार लागुऔषध कोकिनका कुख्यात तस्कर हुन्।
सन् १९६० को दशकको अन्त्यदेखि १९८० को दशकसम्म नेपाल-भारत सीमाबाट हुने लागुऔषध र अन्य वस्तुको तस्करीमा कामदेवको पकड थियो। दी इन्डियन एक्सप्रेसका पत्रकार सन्तोष सिंहलिखित पुस्तक कामदेव सिंह : द ओरिजिनल गडफादर अफ इन्डियन पोलिटिक्स (सन् २०२२)का अनुसार पिथौरागढदेखि सिलिगुडीसम्मको सीमाक्षेत्रमा कामदेवको दबदबा थियो, उनको सहभागिताबिना तस्करीको सामान कसैले पनि ल्याउन वा लैजान सक्दैनथ्यो।
पूर्वडीआईजी मल्लका अनुसार चरेस तस्करीको मुख्य रुट भैरहवा हो र दिल्ली पुर्याएर संकलन गरिन्छ।
बिहारको बेगुसराय लावागाउँका कामदेवले नेपालबाट गाँजा तस्करी गर्न गाउँकै युवाहरूलाई परिचालन गरेका थिए। ‘युवाहरू बेगुसरायबाट नेपालको सीमासम्म बसमा जान्थे, त्यहाँबाट सानोतिनो काम गर्ने मानिस बनेर नेपाल छिर्थे र व्यापारीहरूबाट गाँजा संकलन गरी रातभर हिँडेरै लावागाउँ फर्कन्थे,’ पुस्तकमा भनिएको छ।
सन् १९८० मा कामदेव मारिए पनि उनको समयमा सुरु भएको गाँजा तस्करी र कारोबार पुस्तान्तरण हुँदै आएको पूर्वडीआईजी मल्ल बताउँछन्। “अन्य व्यवसायमा जस्तै यसमा पनि पुस्तान्तरण हुँदै जान्छ, आफ्नै सन्तान नभए पनि नजिकका नातेदार र साथीहरूले त्यसलाई अघि बढाउँछन्,” उनी भन्छन्।
मध्य र पश्चिम पहाडमा चरेस र अफिम
नेपालमा ठूलो परिमाणमा बरामद हुने लागुऔषधमा गाँजापछि चरेस र अफिम पर्छन्। नारायणीपूर्वमा गाँजा उत्पादन र निकासीको रजगज हुँदा मध्य र पश्चिम क्षेत्रमा भने चरेस र अफिम धेरै बरामद हुने गरेको छ।
वैशाख २०८१ यताको १९ महिनाको तथ्यांकअनुसार मध्य र पश्चिम क्षेत्रका मकवानपुर, धादिङ, रुपन्देही, दाङ, सल्यान, बर्दिया, कैलाली, कञ्चनपुर र दार्चुलाबाट अफिम बरामद भएको छ। यी जिल्लाबाट २०८१ सालभरिमा ३२३ किलो चरेस बरामद भएको थियो। जसमा दाङबाट मात्रै सबैभन्दा धेरै १०० किलो बरामद गरिएको थियो। त्यसपछि मकवानपुरबाट ५८ र पर्सामा ५१ किलो र बर्दियामा २७ किलो अफिम बरामद भएको थियो।
यस वर्ष भने मंसिरसम्मको सात महिनामै ३९१ किलो चरेस बरामद भइसकेको प्रहरीको तथ्यांक छ। गत १२ असारमा पर्साको सुक्खा बन्दरगाहनजिकै ३१९ किलो चरेस बरामद गरिएको थियो। त्यसपछि कैलालीमा ६ पटकमा २४ किलो, धादिङमा एकै पटकमा साढे १८ किलो, दार्चुलामा दुईपटकमा करिब सात किलो चरेस बरामद भएको देखिन्छ।
पूर्वडीआईजी मल्लका अनुसार चरेस तस्करीको मुख्य रुट भैरहवा हो र दिल्ली पुर्याएर संकलन गरिन्छ। “दिल्लीबाट आसपासका क्षेत्रमा बिक्रीवितरण हुन्छ। नेपालमा मात्रै नभएर भारतको दिल्लीलगायत क्षेत्रमा पनि नेपाली तस्करहरू पक्राउ पर्छन्,” उनी भन्छन्।
हालै मात्र २१ पुसमा दिल्लीको अमर कोलोनी क्षेत्रबाट एक करोड भारतीय रुपैयाँभन्दा बढी मूल्यको ११ किलो चरेससहित एक नेपाली पक्राउ परेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। यसको एक दिनअघि २० पुसमा नेपाली चरेस तस्कर समूहसँग सम्पर्क रहेका बिहारका एक विद्यार्थी १५.२ किलो चरेससहित पक्राउ परेको दी इन्डियन एक्सप्रेसमा उल्लेख छ। पुस २०८० मा तीन जना नेपालीसहित पाँच जना १५ केजी चरेससहित दिल्लीमा पक्राउ परेका थिए। २१ फागुन २०८१ मा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल-भारत सीमाक्षेत्रको रुपैडिहाबाट करिब १० किलो चरेससहित रोल्पाका एक जनालाई पक्राउ गरेको थियो।
मकवानपुर, धादिङ र पश्चिम पहाडका जिल्लाहरूमा उत्पादित अफिम तस्करी हुने क्रममा तराईका जिल्ला तथा सीमाक्षेत्रमा बरामद हुने गरेको छ।
भारतमा लागुऔषध कारोबार र ओसारपसारमा पक्राउ पर्ने विदेशीमध्ये नेपालीहरूको संख्या उल्लेखनीय रहेको एक तथ्यांकले देखाउँछ। भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोका अनुसार सन् २०२४ मा पक्राउ परेका ६०६ जना विदेशीमध्ये २०३ जना नेपाली थिए।
चरेस रोकथाम र नियन्त्रण गर्न बरामद र पक्राउ गर्नेभन्दा पनि उत्पादन नै रोक्ने नीति नेपाल प्रहरीले लिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद कोइराला बताउँछन्। उनका अनुसार मकवानपुर, धादिङ, मध्यपहाडका जाजरकोट, सुर्खेत, रुकुम पूर्व र पश्चिमका जिल्लाहरूका गाउँ गाउँमा लुकिछिपी चरेस उत्पादन हुने गरेको छ। “पूर्वदेखि मकवानपुर धादिङसम्मको चुरे क्षेत्रका जिल्लाहरूमा प्राकृतिक रूपमा उम्रिनेदेखि कतिपय ठाउँमा लुकिछिपी व्यावसायिक खेती नै हुने गरेको छ,” उनी भन्छन्, “धेरैजसो ठाउँमा हामीले फँडानी गर्दै आएका छौँ, पत्ता लागेसम्म बेर्ना नै नष्ट गर्छौं।”
उत्पादन रोक्न प्रयास गरिरहे पनि कुनाकन्दरा र विकट ठाउँमा रोक्न नसकिएको र तिनैमध्ये केही मात्रामा भारत तस्करी हुने गरेको एसएसपी कोइरालाको भनाइ छ। “उत्पादित चरेस बजार लैजाने क्रममा तराई झारिएपछि सीमाक्षेत्रमा पक्राउ पर्छ,” उनी भन्छन्।
पूर्वडीआईजी मल्लको अनुमानमा लागुऔषध बरामदको तथ्यांक हेर्दा कुल तस्करीमध्ये १५ प्रतिशत हाराहारी मात्र बरामद हुने गरेको छ। “यो नदीमा माछा बगेजस्तै हो। एउटा निश्चित स्थानमा जाल हान्दा कहिले ठूलो माछा पर्छ भने कहिले सानो,” उनी भन्छन्, “लागुऔषधमा यति धेरै नाफा छ कि चारपाँच वटामध्ये एक खेपको तस्करी उम्कियो भने पनि राम्रो कमाउँछन्।”
पश्चिम पहाडमा अफिम
मकवानपुर, धादिङ र पश्चिम पहाडका जिल्लाहरूमा उत्पादित अफिम तस्करी हुने क्रममा तराईका जिल्ला तथा सीमाक्षेत्रमा बरामद हुने गरेको छ। २०८१ सालमा बर्दिया, सुर्खेत, मकवानपुर, बारा, दाङ, जाजरकोट, कैलाली, पश्चिम रुकुम, काठमाडौँ र पर्साबाट गरी करिब ८२ किलो अफिम बरामद भएको थियो।
दाङमा बरामद भएको अफिमको सम्बन्ध पनि मध्यपहाडी जिल्लासँग हुने गरेको छ।
पूर्वडीआईजी मल्ल भारतमा वैध रूपमा अफिम खेती हुने गरेका क्षेत्रमा तोकिएको कोटाभन्दा बढी उत्पादन गर्न थालिएपछि त्यहाँको सरकारले कडाइ गरेको र त्यस क्रममा बनेको बजारमा नेपाली उत्पादनले ठाउँ पाइरहेको बताउँछन्। उनका अनुसार उत्तर प्रदेशका बाराबंकी, गोन्डालगायत क्षेत्रमा वर्षौंदेखि वैध रूपमा अफिम खेती हुँदै आएको छ, जुन नेपालको पश्चिम पहाड नजिकै पर्छ। “त्यहाँ निश्चित परिमाणमा अफिम उत्पादन गर्न इजाजत दिने गरिए पनि बजारमा सरकारले तोकेभन्दा बढी उत्पादन आउन थालेपछि केही दशकदेखि कडाइ गरिएको छ,” उनी भन्छन्, “उत्पादन बढी हुने बेलाको बजारको माग पूर्ति गर्नुपर्ने भयो, जसका क्रममा नेपालका मध्यपहाडी क्षेत्र र कर्णालीमा व्यवस्थित अफिम खेती विस्तार भयो।”
बारा र पर्सामा बरामद भएका अफिमको सम्बन्ध यसको उत्पादन हुने क्षेत्र मकवानपुर र धादिङसँग जोडिएको देखिन्छ। २२ फागुन २०८१ मा बारामा दुई किलो ४१ ग्राम अफिमसहित मकवानपुरको राक्सिराङका सुनिल मोक्तान र हर्क रुम्बा पक्राउ परेका थिए। त्यसको दुई दिनअघि २० फागुनमा बाराबाटै दुई किलो पाँच ग्राम अफिमसहित चितवनको कालिका नगरपालिकाका सन्चलाल वाइबा र मकवानपुरको हेटौँडाका हिरालाल वाइबा पक्राउ परेका थिए। त्यसको एक दिनअघि जितपुर सिमराबाट धादिङ गजुरीका राजन चेपाङ पक्राउ परेका थिए। उनको साथबाट दुई किलो ५०० ग्राम अफिम बरामद भएको थियो। यस्तो सूची लामै छ।
मकवानपुरमा तराई र भारतबाट अफिम खरिद गर्न जानेहरू पनि पक्राउ पर्ने गरेका छन्। ३० माघ २०८१ मा बारा सिम्रौनगढ नगरपालिकाका शशी मुखियालगायत तीन जना दुई किलो १४० ग्राम अफिमसहित मकवानपुरको राक्सिराङ गाउँपालिकामा पक्राउ परेका थिए। २७ पुस २०८१ मा भारतको हरियाणा हिसारका कुनाल गोथ्वाल र मनीष कुमार २१ किलो ६०० ग्राम चरेस र तीन किलो ५०० ग्राम अफिमसहित पक्राउ परेका थिए। कारमा फल्स बटन बनाएर उनीहरूले लागुऔषध तस्करी गर्न लागेका थिए।
दाङमा बरामद भएको अफिमको सम्बन्ध पनि मध्यपहाडी जिल्लासँग हुने गरेको छ। २३ असोज २०८१ मा दाङ घोराहीको मसिनामा करिब ३९ किलो चरेस र ११ किलो अफिमसहित तीन जना पक्राउ परेका थिए। उनीहरू सबै रुकुम पूर्वका थिए। पक्राउ पर्नेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका सुविन्द्र पुन, चेतन बुढा र बिनी पुन थिए।
उत्पादन क्षेत्रमै पनि अफिम बरामद भएको छ। १९ असोज २०८१ मा पश्चिम रुकुमको मुसिकोटस्थित सेरीगाउँमा आठ किलो १०० ग्राम अफिमसहित मुसीकोटका भीमबहादुर वली, आठबिसकोट नगरपालिका स्यालाका अजय यरी पक्राउ परेका थिए। गत वर्षकै १६ भदौमा नेपालगन्जतर्फ जाँदै गरेको ट्रक जाँचका क्रममा पश्चिम रुकुमकै आठबिसकोट नगरपालिका छेपारेबाट साढे पाँच किलो अफिमसहित सल्यान कुमाखका मदनप्रकाश गिरीलाई पक्राउ गरिएको थियो।