२५ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। बैंकिङ कसुर र सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-७ का १९ वर्षीय क्रमिक उप्रेती रहेका छन्।

उप्रेतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उप्रेतीले अनधिकृत कागजात पेश गरी इसेसवा मर्चेन्ट वालेट र इसेवा वालेट खोलेर कारोबार गरेको पाइएको छ। उनले इसेवा मर्चेन्ट वालेटबाट ५६ लाख ३३ हजार ६०३ रुपैयाँ कारोबार गरेको पाइएको छ।

यस्तै, उप्रेतीले इसेवा वालेटबाट ५६ लाख ३१ हजार ६०३ रुपैयाँ कारोबार गरेको खुलेको छ। आचार्यका अनुसार उप्रेतीले वाइड स्पेश इन्टरनेसनल प्रालिको नाममा जारी भएको स्थायी नम्बरलगायत कागजातबाट इसेवा र त्यसैको मर्चेन्ट वालेट खोलेका थिए।

उप्रेतीले उक्त कारोबार सट्टेबाजीजन्य कार्यमा गरेको प्रहरीले बताएको छ। तर, उनले कति समयमा यतिको कारोबार गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट ल्यापटप, मोबाइल, पेनड्राइभ, सिमकार्य, मेमोरी कार्डलगायत बरामद गरेको छ।