काठमाडौं। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराई र पहाडी भेगका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो तराई भूभागका धेरै ठाउँमा अबेलासम्म नै हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
देशभर चिसो बढेको छ । काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ । डडेलधुरा, दीपायल, सुर्खेत लगायतका ठाउँको तापक्रम काठमाण्डौको भन्दा कम छ । यस्तै जुम्ला, जोमसोम, जिरी लगायतका हिमाली भेगको तापक्रम माइनसमा झरेको छ ।




