काठमाडौं । रूसले ‘मैरिनेरा’ नामक जहाज पक्राउ गरिएको घटनालाई अन्तर्राष्ट्रिय समुद्री कानुनविपरीत भएको दाबी गरेको छ। रुसी विदेश मन्त्रालयले यसबारेआधिकारिक वक्तव्य जारी गर्दै अमेरिकाको कदमको विरोध गरेको हो।
विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेको छ, ‘समुद्रमा कानुनअनुसार सञ्चालनमा रहेका मैरिनेरा र अन्य जहाजविरुद्ध अमेरिकाले गरिरहेको गैरकानुनी कारबाही तत्काल रोक्न हामी अपील गर्छौं।’
साथै, जहाजमा सवार रुसी नागरिकहरूसँग उचित व्यवहार सुनिश्चित गर्न अमेरिकासँग पुनः माग गरिएको छ।
यसअघि अमेरिकाले भेनेजुएलासँग सम्बन्धित दुईवटा तेल ट्यांकर कब्जामा लिएको दाबी गरेको थियो। तीमध्ये एक ट्यांकर उत्तरी अटलान्टिक महासागरमा आइसल्यान्ड र बेलायतको बीचको क्षेत्रमा नियन्त्रणमा लिइएको बताइएको छ।
रुसी झण्डा फहराइरहेको ‘मैरिनेरा’ नामक उक्त जहाजमा तेल नरहेको अमेरिकी पक्षको भनाइ छ। अमेरिकी तटरक्षक बलले सो जहाजलाई केही हप्तादेखि पछ्याइरहेको र अन्ततः नियन्त्रणमा लिएको जनाएको छ।