काठमाडौं। जेन–जी आन्दोलनका अभियन्ता सुधन गुरुङले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने औपचारिक घोषणा गरेका हुन्।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै गुरुङले भनेका छन्, “गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु ।” उनले आफ्नै गाउँ र माटोबाट परिवर्तनको सुरुआत गर्ने प्रतिबद्धता व्यक्त गर्दै “नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल” भन्ने सन्देशसमेत दिएका छन्।
तर उनले कुन राजनीतिक दलबाट चुनाव लड्ने भन्ने विषयमा भने अझै स्पष्ट पारेका छैनन्। यसअघि गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पूर्व ऊर्जामन्त्री कुलमान घिसिङबीच सहकार्य गराउन भूमिका खेलेको बताइन्छ। यही कारण उनले रास्वपाको घण्टी चुनाव चिह्न लिने अपेक्षा गरिएको छ।