मधेस
दुईपटक लगातार चुनाव जितेका महन्थ राष्ट्रिय सभातिर लागेपछि नयाँ उम्मेदवारको खोजी
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालका अध्यक्ष ८४ वर्षीय महन्थ ठाकुरले राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएपछि महोत्तरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि नयाँ उम्मेदवारको खोजी हुन थालेको छ। ठाकुर त्यस क्षेत्रबाट लगातार दुईपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
ठाकुर संसदीय राजनीतिका चतुर खेलाडी हुन्। गृहजिल्ला सर्लाहीमा कमजोर भएपछि ठाकुरले महोत्तरी-३ लाई आफ्नो निर्वाचन क्षेत्र बनाएका थिए। तथापि, चुनाव जितेपछि उनले महोत्तरी-३ को विकासमा ठोस योगदान गर्न चाहिँ सकेनन्।
वयोवृद्ध ठाकुरको स्वास्थ्य कमजोर छ। तैपनि, उनी राष्ट्रिय सभा सदस्य बन्ने ध्याउन्नमा छन्। उनी यसपालि नेपाली कांग्रेस, नेकपा (एमाले) र जसपा, नेपालको समर्थनमा राष्ट्रिय सभाको सदस्य बन्न तम्सिएका छन्।
ठाकुर सर्लाहीको मलंगवा नगरपालिका नयाँबस्तीका स्थायी बासिन्दा हुन्। उनी २०७४ सालको चुनावमा २६ हजार ८४५ मत ल्याई राष्ट्रिय जनता पार्टी, नेपालबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। त्यतिबेला उनका प्रतिस्पर्धी एमालेका विजयकुमार चौधरीले आठ हजार ६७६ मत ल्याएका थिए। २०७९ सालको निर्वाचनमा चाहिँ ठाकुर लोसपा, नेपालबाट विजयी भएका थिए। त्यतिबेला उनले १६ हजार ३७५ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी जसपा, नेपालका उम्मेदवार हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याएका थिए।
जीवनको उत्तरार्द्धमा ठाकुरले लगातार दुईपटक विजय हासिल गरेको महोत्तरी-३ छाड्नुको कारण चाहिँ काठमाडौँका मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि हुन्। बालेन महोत्तरी-३ बाट यसपालि चुनावी मैदानमा उत्रिने चर्चा र सम्भावनालाई दृष्टिगत गरी ठाकुरले राष्ट्रिय सभामा उम्मेदवारी दिएको कतिपयको बुझाइ छ। कतिपयले चाहिँ जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवका लागि ठाकुरले आफ्नो चुनाव क्षेत्र खाली गरेको विश्लेषण गरेका छन्।
यस क्षेत्रबाट २०६४ सालको संविधानसभा निर्वाचनमा महन्थ ठाकुर उम्मेवार बनेनन्। त्यतिबेला ठाकुर संविधानसभा सदस्यमा मनोनीत भएका थिए। २०४८ देखि २०६४ सालसम्मका चार वटा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित हुनेमा हरिशंकर मिश्र, महेन्द्र राय, रामचन्द्र तिवारी र गणेश तिवारी हुन्। यीमध्ये महेन्द्र राय र संविधानसभा सदस्य गणेश तिवारीको मृत्यु भइसकेको छ। मिश्र मधेस प्रदेशको प्रदेश प्रमुख भइसकेका छन्। २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा एमालेका रामदयाल मण्डल विजयी भए। उनी यस क्षेत्रबाट निर्वाचित पहिलो दलित हुन्। उनको विजयले महोत्तरी-३ मा रहेको एकल जातीय वर्चस्व समाप्त भएको थियो।
ठाकुर राष्ट्रिय सभाको उम्मेदवार बनेपछि २१ फागुनको चुनावका लागि महोत्तरी-३ मा नयाँ उम्मेदवारको खोजी हुन थालेको छ। आगामी चुनावमा नेपाली कांग्रेसबाट पूर्वसांसद रामचन्द्र तिवारीले आफूलाई सम्भावित उम्मेदवारका रूपमा प्रचार सुरु गरेका छन्। त्यस्तै, जसपा, नेपालबाट संविधानसभा सदस्यद्वय रामकुमार शर्मा र हरिनारायण यादव उम्मेदवार हुने चर्चा छ।
महोत्तरी-३ मा नेपाली कम्युनिस्ट पार्टीको जनाधार कांग्रेस र एमालेभन्दा कमजोर छ। पहिलो संविधानसभाको निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट निर्वाचित शर्मा माओवादी हुँदै अहिले पुनः जसपा, नेपालमा आबद्ध छन्।
कांग्रेसबाट राजनीति सुरु गरेका यादव पूर्वमन्त्री हुन्। एमालेबाट रामआधार कापर र नेकपाबाट विजयकुमार चौधरीले उम्मेदवारी दिने चर्चा छ। ठाकुरपछि महोत्तरी-३ बाट राजनीतिक दल अथवा स्वतन्त्र उम्मेदवारमध्ये को विजयी हुन्छ? अहिले नै अनुमान गर्न कठिन छ।