त्यो काण्ड

भक्तपुर दरबार स्क्वायरमा रहेको भूपतीन्द्र मल्लको मूर्तिचोरी काण्ड के थियो? किन डीएसपी रूपकराज शर्मा मारिएको हल्ला एक्कासि चल्यो?

२६ पुष २०८२
पूर्वडीएसपी रूपकराज शर्मा र इन्सेटमा भक्तपुर दरबार क्षेत्रमा रहेको भूपतीन्द्र मल्लको सालिक
अ+
अ-

३ चैत २०४१ सालमा नेपालले घरेलु मैदानमा निकै बलियो प्रतिस्पर्धी मलेसियालाई गोलरहित बराबरीमा रोक्यो। यो नतिजासँगै दशरथ रंगशालामा खुसीले गदगद नेपाली समर्थक त्यतिबेला दुःखी देखिए, जब एक दशकदेखि राष्ट्रिय टोलीको कप्तानी गरिरहेका रूपकराज शर्माले एक्कासि सन्न्यासको घोषणा गरे। खेल सकिन १० मिनेट बाँकी छँदा उनले कप्तानीको ‘आर्म-ब्यान्ड’ सुरेश पन्थीलाई हस्तान्तरण गरेपछि नेपाली फुटबलको एउटा अध्याय समाप्त भयो।

नेपाली फुटबलमा लोकप्रिय कप्तानको छवि बनाएका रूपकको त्यो अप्रत्याशित सन्न्यासबाट चकित मिडियाकर्मीहरूले खेल सकिएलगत्तै उनलाई चारैतिरबाट घेरे। त्यतिबेला पत्रकारहरूलाई छोटो प्रतिक्रिया दिने क्रममा उनले भन्न भ्याए, ‘प्रहरी कर्ममा विशेष ध्यान दिनुपर्ने कारण फुटबल खेलबाट टाढिन लागेको हो।’

फुटबलबाट सन्न्यास लिँदा उनी नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा कार्यरत थिए। सन्न्यासको घोषणासँगै उनी बेलायत उडे। तर, यता हंगामा सुरु भयो। केही पत्रपत्रिकाले उनको विषयमा यतिसम्म छाप्न भ्याए– पञ्चायती सत्ताले उनको ज्यान लियो। तथाकथित भूमिगत गिरोहले मारेर लास गायब बनायो।

तालिम सकेर नेपाल नफर्किंदासम्म रूपकका विषयमा कैयौँ अपुष्ट समाचार प्रकाशित भए। उनी नेपाल फर्किएर फुटबल रेफ्रीका रूपमा मैदानमा प्रकट भएपछि मात्र मारिएको हल्ला निराधार साबित भयो।

उनको नाम भक्तपुरको अप्रमाणित मूर्तिचोरी काण्डसँग जोडियो। नानाथरीका टीकाटिप्पणी भए। उनी मारिएको अपुष्ट समाचारले मुलुक हल्लियो। उनको विषयमा अतिरञ्जित समाचारहरू सम्प्रेषित हुन थाले। माहोल यस्तो बन्यो, पहिलोपल्ट घरपरिवारका सदस्यले पत्रपत्रिकामार्फत प्रस्टीकरण दिनुपर्‍यो।

रूपककी ८९ वर्षीया जेठी दिदी इन्दिरा सापकोटा त्यो घटना सम्झँदा अहिले पनि भावुक बन्छिन्। त्यतिबेला उनी श्रीमान् बटुराज सापकोटाको उपचारका लागि भारतको दिल्लीस्थित आयुर्विज्ञान संस्थान पुगेकी थिइन्। श्रीमान्‌को दिल्लीमै निधन हुँदा नेपालमा भने भाइ मारिएको हल्लाले देश तातेको थियो। “हामी त छक्क पर्‍यौँ,” उनी भन्छिन्।

इन्दिरा सापकोटा

भिनाजुको उपचारका लागि रूपकका दाजु तत्कालीन पञ्च, पछि नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्वपर्यटनमन्त्री दीपकुमार उपाध्याय पनि दिल्लीमै थिए। भाइ मारिएको अपुष्ट समाचार दनादन नेपाली मिडियामा प्रकाशित हुन थालेपछि नेपाल फर्किएर उनले अपिलै गर्नुपर्‍यो। उनले विभिन्न पत्रपत्रिकामार्फत आफ्नो भाइ जीवित रहेको र अपराध अनुसन्धानसम्बन्धी चारमहिने तालिम लिन लन्डन पुगेको प्रस्ट पारे।

तर, त्यति भन्दा पनि हल्ला रोकिएन। उल्टो समाचार सम्प्रेषण हुन थाल्यो– रूपकको हत्या बेलायतमा भइसकेको छ , शव दुईचार दिनमै काठमाडौँ ल्याइँदै भनेर।

यी समाचारहरूबाट हैरान दाजु दीपले आफ्नो भाइले तालिम लिइरहेको वेस्टफिल्डस्थित मेट्रोपोलिटन पुलिस एकेडेमीको ठेगानासहित टेलिफोन नम्बर ९२४३७५२२२ नै सार्वजनिक गर्नुपर्‍यो। उनले भाइको विषयमा प्रकाशित अनर्गल समाचार रोक्न ती पत्रपत्रिकाका सम्पादकहरूलाई सत्यतथ्य बुझ्न बेलायतमा फोन गर्न आग्रह गरे। उनले साताको दुईपटक परिवारका सदस्यहरूसँग रूपकको कुराकानी भइरहेको जानकारी दिए। श्रीमती नीता शर्माले पनि सरकारी मिडिया गोरखापत्रमार्फत आफ्ना श्रीमान् स्वस्थ एवं तन्दुरुस्त रहेको बताइन्।

तर, यति गर्दा पनि केही पत्रपत्रिकाले लेख्न भ्याए– टेलिफोनको आवाज रूपकको होइन। अर्कै कुनै मान्छेको हो।

तालिम सकेर नेपाल नफर्किंदासम्म रूपकका विषयमा कैयौँ अपुष्ट समाचार प्रकाशित भए। उनी नेपाल फर्किएर फुटबल रेफ्रीको रूपमा मैदानमा प्रकट भएपछि मात्र मारिएको हल्ला निराधार साबित भयो।

अन्तर्राष्ट्रिय फुटबलका क्रममा कप्तान रूपकराज शर्मा

रूपकसँग जोडिएको त्यो घटना के थियो? किन एक्कासि उनी मारिएको हल्ला नेपाली समाजमा डढेलोसरह फैलियो? यस विषयमा संशयको पर्दा अहिलेसम्म हटेको देखिँदैन।

उनीसँगै लन्डनमा अर्का प्रहरी अधिकृतले पनि तालिम लिएका थिए। उनको नाम थियो, श्यामभक्त थापा। तर, श्यामको नाम कुनै पत्रपत्रिकामा सार्वजनिक भएन। रूपक मात्र लन्डन उडेको हल्ला फिँजाइयो।

वास्तवमा घटना जोडिन्छ, भक्तपुर जिल्लामा रूपकको सरुवासँगै। त्यतिबेला नेपालमा सुन तस्करी र मूर्तिचोरीको घटना अचाक्ली बढेको थियो। नेपाल प्रहरीले केही दिनअघि मात्र दोलखाको त्रिपुरासुन्दरी र काली मन्दिरमा मूर्तिचोरी गर्ने ठूलो र्‍याकेटलाई काठमाडौँमा समातेको थियो। यी चोरीको घटनामा प्रधानपञ्चलगायत प्रभावशाली व्यक्तिको मिलेमतो उजागर भइरहेको अवस्थामा साप्ताहिक अखबारहरूमा ‘भक्तपुरमा मूर्तिचोरी काण्ड’ शीर्षकमा अचानक समाचार प्रकाशित भयो।

जसमा उल्लेख थियो– २०४२ सालको बिस्केटजात्राभन्दा अगाडि (२०४१ सालको अन्त्यतिर) राजपरिवारका एक वरिष्ठ सदस्यले भक्तपुरमा रहेको राजा भूपतीन्द्र मल्लको मूर्ति चोर्न क्रेनसहित भारदारहरूलाई मूर्तिस्थलमा पठाएका थिए। ती भारदारहरूले मूर्ति झिक्न लाग्दा जनता–जनार्दनले त्यहाँ प्रहरीका हाकिम रहेका रूपक शर्मासित गुहार मागे। उहाँकै सक्रियताले गर्दा भूपतीन्द्र मल्लको सालिक भारदारहरूले लान पाएनन्। राजदरबार कलंकित हुने डरले उहाँलाई फकाउन र यो घटना साम्य पार्न ‘इन्टरपोलको ट्रेनिङ’ का निम्ति इनामस्वरूप लन्डन पठाइयो।

यो समाचार प्रकाशित हुनुअघि फुटबल खेल्न रूपकको सरुवा पुनः काठमाडौँमा हुनुले पनि सर्वसाधारणहरूमा ठूलो भ्रम सिर्जना भयो। नेपालको राष्ट्रिय फुटबल टोली सन् १९८६ को विश्वकपका लागि पहिलोपल्ट आफ्नै देशमा दक्षिण कोरिया र मलेसियाविरुद्ध ‘होम गेम’ को तयारी गरिरहेको थियो। राष्ट्रिय टोलीको कप्तान भएको नाताले उनी क्याम्पमा सहभागी हुन २०४१ सालको पुस महिनामै प्रहरी प्रधान कार्यालय सरुवा भएका थिए। विश्वकप छनोटका लागि २ माघदेखि नै बन्द प्रशिक्षण सुरु भइसकेको थियो। छनोटमा नेपालले १९ फागुनमा दक्षिण कोरिया र ३ चैतमा मलेसियाविरुद्ध ‘होम गेम’ दशरथ रंगशालामा खेल्ने कार्यक्रम तय भइसकेको थियो भने ‘अवे गेम’ स्वरूप १८ चैतमा मलेसियाको क्वालालम्पुर र २४ चैतमा दक्षिण कोरियाको सिओलमा खेल्दै थियो।

दशरथ रंगशालामा १९ फागुनमा भएको खेलमा नेपाल २-० ले पराजित भयो। मलेसियाविरुद्ध ३ चैतमा सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिएपछि ‘अवे’ खेल नखेल्दै रूपकले फुटबलबाट सन्न्यास लिए। यसको ६ दिनपछि अर्थात् ९ चैतमा त उनी अपराध रोकथामसम्बन्धी तालिम लिन लन्डन उडिहाले।

उनीसँगै लन्डनमा अर्का प्रहरी अधिकृतले पनि तालिम लिएका थिए। उनको नाम थियो, श्यामभक्त थापा। तर, श्यामको नाम कुनै पत्रपत्रिकामा सार्वजनिक भएन। रूपक मात्र लन्डन उडेको हल्ला फिँजाइयो।

तालिमका लागि यी दुवैको नाम पहिले नै पठाइएको थियो। उनीहरू बेलायत जाने कार्यक्रम पहिले साउन-भदौमा निर्धारित थियो। तर, तालिमको अवधि सरेपछि चैतको पहिलो साता नै उड्नुपर्‍यो। यसै कारण रूपकले विश्वकप छनोटको ‘अवे गेम’ नखेली बीचैमा सन्न्यासको घोषणा गरेका थिए।

त्यस घटनाको विषयमा नेपाल प्रहरीका पूर्वआईजीपी अच्युतकृष्ण खरेल भन्छन्, “यो सम्भवै नहुने कुरा हो। नेपाललाई त्यसै हल्लैहल्लाको देश भनिएको होइन नि।” भक्तपुरमा मूर्तिचोरीको प्रयास भएको समाचार प्रकाशित हुँदा खरेल प्रहरी तालिम केन्द्रमा अनुसन्धान अधिकृत थिए। उनी भन्छन्, “भक्तपुरको बाक्लो बस्ती भएको दरबार स्क्वायरमा मूर्ति निकाल्न त्यति ठूलो आवाज आउने क्रेन बोकेर कोही जान्छ होला? के लाग्छ तपाईंहरूलाई? भक्तपुरे जनताको धार्मिक आस्थासँग जोडिएको विषय, जनताहरू उठेर मार्दैनन्?”

अच्युतकृष्ण खरेल र रविराज थापा

२०३२ सालमा रूपकलाई नेपाल प्रहरीको इन्स्पेक्टर पदमा भर्ना गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका खरेल उल्टै प्रश्न गर्छन्, “२०४१ सालको अन्त्यतिर मूर्तिचोरीको प्रयास भयो। गाउँलेले लखेटे भन्ने समाचार आयो। गाउँलेहरूले नै उल्टिएर प्रतिकार गर्नुपरेको घटनाको कुनै जाहेरी प्रहरीमा हुनुपर्ने होइन र? खोइ त जाहेरी? कतै जाहेरी परेजस्तो लाग्दैन। फेरि उबेला पञ्चायती व्यवस्था थियो। सबै बोल्न डराए। तर, अहिले त छताछुल्ल हुनुपर्ने होइन र? गाउँले नै राति उठेर आएको घटनामा एक जनाको पनि उजुरी नपर्ने भन्ने कहीँ हुन्छ?”

काठमाडौँ उपत्यकाअन्तर्गत कीर्तिपुर र भक्तपुरलाई कम्युनिस्ट प्रभावभित्र रहेको सहरका रूपमा हेर्ने गरिन्छ। फेरि पञ्चायतकालमा भक्तपुरका प्रभावशाली कम्युनिस्ट नेता नारायणमान बिजुक्छे ‘रोहित’ भूमिगत थिए। त्यो घटना सत्यतामा आधारित हुन्थ्यो भने अहिलेसम्म के भइसक्थ्यो होला? प्रतिप्रश्न गर्छन्, अर्का पूर्वप्रहरी अधिकृत रविराज थापा।

२०३३ सालमा प्रहरी सेवामा आबद्ध थापा भन्छन्, “पञ्चायत प्रवेश गर्‍यो भनेर आफ्ना नेता (कर्णप्रसाद ह्योजू)लाई छाताले घोची-घोची मारेको ठाउँमा क्रेन बोकेर मूर्ति उखेल्न जानेको हालत के हुन सक्थ्यो होला? अनुमान लगाउनुस् त। दरबारलाई बदनाम गराउन यी सबै हल्ला चलाइएका हुन्।”

यस विषयमा रूपकले पनि खुलेर कहिल्यै कुरा गरेनन्। अझ, १३ असोज २०४९ सालमा पाकिस्तान विमान दुर्घटनामा ३८ वर्षको अल्पायुमा उनले ज्यान गुमाएपछि यो घटना रहस्यको गर्भमै रह्यो।

त्यतिबेला मूर्ति र सुन चोरीमा भरत गुरुङको नाम निकै बदनाम थियो। र, गुरुङ तत्कालीन अधिराजकुमार धीरेन्द्रसँग निकै नजिक थिए। चारैतिर मूर्तिचोरीको घटना बढिरहेको अवस्थामा भरत गुरुङको नाम जोडेर यस घटनालाई बाहिर ल्याइएको थियो।

२०४२ सालमा पञ्चायतविरुद्ध प्रायः सबै राजनीतिक पार्टीहरूले मोर्चाबन्दी गरिरहेको अवस्थामा पनि दरबारलाई बदनाम गर्न केही पत्रपत्रिकाले राम्रो मसला पाएको बताउँछन्, थापा। “अधिराजकुमार धीरेन्द्र र पूर्वराजा ज्ञानेन्द्रलाई जोडेर पनि हल्ला चलाउने गरिएको छ। यो सबै बेकारको कुरा हो। भरत गुरुङका कारण भने दरबार बदनाम भएकै हो,” उनी भन्छन्।

रूपकराज शर्मा

नेपालमा मूर्तिचोरीको घटना बढिरहँदा अमेरिकामा यसको माग उच्च थियो। तिब्बतीहरू मूर्तिचोरीको घटनामा बढी सक्रिय देखिन्थे। “त्यतिबेला राति ११ र १२ बजे दुई घण्टाको बीचमा मूर्तिचोरी गर्ने प्रयास भयो भनियो। सहरमा हल्लीखल्ली हुँदा मूर्तिचोरहरू भागे पनि भनियो। घटनामा कोही भेटिएनन्। घटना कुन दिनको हो? कसैलाई थाहा छैन। यस्तो यकिन गर्न नसक्ने घटना पनि हुन्छ?” उनी भन्छन्।

अखबारहरूमा मूर्तिचोरीको प्रयास २०४१ सालको अन्त्यतिर भएको भनियो। तर, समाचार प्रकाशित हुन थाले २०४२ सालको वैशाखपछि। राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव शरद्चन्द्र शाहले अखबारमा प्रकाशित यी समाचारहरूप्रति गहिरो असन्तुष्टि जाहेर गरेका थिए। उनले २०६४ सालमा रूपकराज शर्माको विषयमा प्रकाशित स्मृतिग्रन्थ रूपकमा लेखेका छन्– कुनै उच्चस्तरीय व्यक्तिबाट मूर्तिचोरी हुन लागेको बेला रूपक पुगेकाले उनको हत्या गरियो भनियो। यो बिल्कुलै कपोलकल्पित र प्रायोजित हल्ला थियो। बेलायतबाट फर्किएपछि रूपकले दशरथ रंगशालामा फुटबल खेलहरूमा रेफ्री गरे। दुनियाँले देखे। तर, त्यो प्रचार गर्ने कसैले आफ्नो गल्ती स्विकारेनन्।

यस विषयमा रूपकले पनि खुलेर कहिल्यै कुरा गरेनन्। अझ, १३ असोज २०४९ मा पाकिस्तान विमान दुर्घटनामा ३८ वर्षको अल्पायुमा उनले ज्यान गुमाएपछि यो घटना रहस्यको गर्भमै तुहियो।