खिचिक्क

प्रहरी कार्यालय बाहिरको फुटपाथमा आवेदन फाराम भरिदिनेहरूको अर्को सानातिनो व्यापार नै फस्टाएको छ।

२६ पुष २०८२
निर्वाचन प्रहरी बन्न जिल्ला प्रहरी कार्यालय मोरङ बाहिर आवेदन फाराम बुझाएर दर्ता नम्बर लिन लाइनमा बसेकाहरू। तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। मोरङ उर्लाबारी २‚ डुम्रेकी २८ वर्षीया रोशिका श्रेष्ठको दिनचर्या अन्य दिनको जस्तो सामान्य रहेन। चुल्हो-चौको र घरायसी धपेडी थाती राखेर उनी शुक्रबार बिहानै बसपार्कतिर दौडिइन्। उद्देश्य थियो- सरकारले घोषणा गरेको आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि ‘निर्वाचन प्रहरी’ (म्यादी) मा भर्ती हुनु।

सामाजिक सञ्जालमा शुक्रबारदेखि आवेदन खुल्ने सूचना पाएकी रोशिका एक्लै थिइनन्, साथमा भाइ रोमन पनि थिए। ५२ किलोमिटरको सार्वजनिक बसको थकाइलाग्दो यात्रा पार गरेर उनीहरू विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङको मूल ढोकामा आइपुग्दा बिहानको ११ बजिसकेको थियो। तर, त्यहाँको दृश्य देख्दा रोशिका अक्क न बक्क परिन्। उनीभन्दा अगाडि नै सयौँ युवायुवती जाडोको प्रवाह नगरी लामो लाममा बसिसकेका थिए।

“घरमा बसेर मात्रै के गर्नु ? काम केही छैन‚” हातमा आवेदन फाराम बोकेकी रोशिकाले भनिन्‚ “निर्वाचन प्रहरी बन्न पाइयो भने ४० दिनकै भए पनि रोजगारी हुन्छ। यसबाट आउने पैसाले घर खर्च चलाउन सजिलो होला भन्ने आशा छ।” झन्डै डेढ घण्टाको कसरतपछि मात्रै उनले फाराम दर्ता गरेर दर्ता नम्बर लिइन्।

प्रहरी कार्यालय बाहिरको फुटपाथमा आवेदन फाराम भरिदिनेहरूको अर्को सानातिनो व्यापार नै फस्टाएको देखिन्थ्यो। फाराम भरिदिएबापत सहयोगीले एक सय रुपैयाँसम्म लिने गरेका थिए। तर, रोशिका र उनका भाइले आफ्नै अक्षरमा विवरण भरे। “भिड देख्दा त डरै लाग्यो। तर नाम निस्किए हुन्थ्यो भन्ने लागेको छ‚” उनले थपिन्‚ “अब ४ माघमा छनोटका लागि बोलाइएको छ। त्यही दिनको पर्खाइमा छु।”

रोशिकाको जस्तै कथा छ कानेपोखरी गाउँपालिका ४‚ मोरङकी १९ वर्षीया अनीता बुढाथोकी र मुना तामाङको पनि। कक्षा १२ को पढाइ सकेर बसेका यी किशोरीहरूका लागि म्यादी प्रहरीको भर्ना ‘पकेट खर्च’ जुटाउने एउटा सुनौलो अवसर बन्नेछ। “रोजगारी कतै छैन। निर्वाचनमा खटिन पाइयो भने अनुभव पनि हुने र खर्च पनि आउने‚” अनीताले भनिन्‚ “हामीजस्ता युवाका लागि यो अल्पकालीन भए पनि राहतको विषय हो।”

मोरङ प्रहरीका अनुसार आवेदन खुलेको पहिलो दिनमै युवाहरूको उत्साहजनक उपस्थिति छ। मोरङका ६ वटा निर्वाचन क्षेत्रका लागि कुल ४३ सय ८३ जना म्यादी प्रहरी आवश्यक पर्नेमा पहिलो दिन नै ६६१ जनाले औपचारिक आवेदन दर्ता गराए। जसमा २१७ महिला र ४४४ पुरुष छन्। मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुँडाल भन्छिन्‚ “पहिलो दिनमै सयौंको संख्यामा युवायुवती सोधपुछ र फारामका लागि आएका थिए। १ माघसम्म आवेदन दिने समय भएकाले यो संख्या अझै बढ्ने निश्चित छ।”

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अभिषेककुमार श्रेष्ठको टोलीलाई आवेदन व्यवस्थित गर्न भ्याइनभ्याइ छ। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका जोकोहीले पनि आवेदन दिन सक्ने व्यवस्थाले गर्दा भर्खरका युवादेखि अधबैंसेहरूसम्म लाममा भेटिन्छन्।

कोसीको कुन जिल्लामा नागरिक प्रहरीको माग कति?
कोसी प्रदेशको १४ जिल्लाका लागि २३ हजार ४०९ जना निर्वाचन प्रहरीको माग गरिएको छ। कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापामा ४३ सय आठ‚ सुनसरीमा ३१ सय ४९‚ इलाममा १७ सय ३४ जनाको माग छ।

त्यसैगरी पाँचथरमा ११ सय ३१‚ ताप्लेजुङमा ८४६‚ भोजपुरमा ११‚ संखुवासभामा ९९८‚ खोटाङमा ११ सय ८६‚ ओखलढुंगामा ८७७‚ सोलुखुम्बुमा ८५१‚ धनकुटामा ९८९‚ तेह्रथुममा ५२० र उदयपुरमा १४ सय ४६ जनाको माग रहेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
हेर्नुहोस् थप तस्बिर :