अनुभूति
घरदेशीहरूलाई तनाव नहोस् भनेर परदेशीहरू आफ्नो पीडा प्राय: सुनाउँदैनन्। यहाँसम्म कि मैले आफ्नो स्वास्थ्य समस्याबारे आमालाई पनि भनिनँ।
करिब आठ वर्ष एउटै कम्पनीमा दिनरात नभनी गोरुझैँ जोतिएपछि ७५ दिन फुक्काफाल भएँ। जता गए पनि हुने, जतिखेर हिँडे पनि हुने। न बार, न बन्देज।
खासमा बेरोजगार भएँ म। कोरिया आएयता एकै ठाउँमा, एउटै काम, एकै प्रकारले काम गरिरहँदा बेरोजगार भएकी यो नै पहिलोपटक थियो।
बेरोजगार भएको सुरुका तीनचार दिन त बँधुवा बस्तुभाउको डोरी चुँडिँदा जसरी बेपत्ता कुद्छ, त्यसरी नै यताउता कुदेँ। दिशाविहीन। योजनाविहीन।
कोरियामा मान्छे होइन, काम प्यारो हुन्छ। कामकै कारण साहुको विश्वास जितिने हो। नेपाल हुँदा तीनचार घन्टाभन्दा बढी काम नगरेकी म कोरियामा दैनिक ८/१२ घण्टाको दरले हप्ताको ५/६ दिन खट्न थालेँ।
आठ वर्ष काममा जोतिइरहँदा सोच्थेँ, एक महिना काम गर्नुनपरे के के गर्थें, के के लेख्थेँ। किताबखानामा थन्क्याइराखेका किताब झिकेर खुब पढ्थेँ। यसो गर्थें, उसो गर्थें।
तर, अढाई महिना बितिसक्दा पनि केही नाप्न सकेको भए पो! दिन कटाउन पनि गाह्रो हुन थाल्यो।
बरु कम्पनीमा हुँदा समय कटाउन गाह्रो थिएन। बिहान उठ्यो, कम्पनी पुग्यो, काम गरेर बेलुकी फर्कियो। ज्यान गलेर लोथ हुन्थ्यो। तर, बेकामे भएपछि त ज्यान मात्र होइन, मस्तिष्क पनि थाक्दो रहेछ। अझ बढी त गोजी रित्तो हुँदा गाह्रो हुँदो रहेछ। रित्तो गोजीले सम्बन्ध, आफन्त सबै टकटकिने रहेछन्।
आठ वर्षअघि पहिलोपटक कम्पनीमा आउँदा म लुखुरी ज्यानकी थिएँ, ओइलाएको पातजस्तो। ज्यान देखेर होला, साहुले भनेका थिए रे, ‘यसले काम गर्न सक्ली र!’
तर, ती कोरियन साहुलाई के थाहा, म त कोरियन भाषा पढ्दै गर्दादेखि नै मानसिक रूपमा बलियो भइसकेकी थिएँ। नत्र बिरामी आमालाई घरमा एक्लै छाडेर परदेश हिँड्न कहाँबाट आउँथ्यो आँट! घरको दैलो नाघेर हिँडेकै दिन प्रतिबद्ध थिएँ- जस्तोसुकै परिस्थितिको पनि सामना गर्नेछु।
आत्मविश्वासका साथ म कोरिया आएकी थिएँ। त्यही आत्मविश्वासले साहुको म र मेरो कार्यदक्षताप्रतिको शंकालाई विश्वासमा परिणत गरिदिएँ।
कोरियामा मान्छे होइन, काम प्यारो हुन्छ। कामकै कारण साहुको विश्वास जितिने हो। नेपाल हुँदा तीनचार घन्टाभन्दा बढी काम नगरेकी म कोरियामा दैनिक ८/१२ घण्टाको दरले हप्ताको ५/६ दिन खट्न थालेँ। मान्छेको ज्यान रापमा पोलेको फलामजस्तै रहेछ। तातिएको बेला जस्तो आकारमा ढाल्यो, उस्तै बन्ने। दुईतीन महिनापछि शरीरलाई कोरियाको मेसिनसँगसँगै चल्ने बनाएँ।
मेसिनको गतिमा काम गर्दा शरीर लोथ हुन्थ्यो। ज्वरो फुट्थ्यो। महिनावारीमा कैयौँपटक पेनकिलर खाएर काम गरेँ। जसरी पनि मेसिनकै गतिमा काम गर्न शरीरलाई तयार पार्थें।
मलाई लाग्थ्यो, यो नाथे दुखाइ! तर, दुखाइ सधैँ नाथे नहुँदो रहेछ। मेसिन त कहिलेकाहीँ बिग्रन्छ भने यो हाडमासुको शरीर कतिन्जेल ठीकठाक रहन सक्थ्यो र!
एकदिन बिग्रियो।
अघिल्लो दिनसम्म तन्दुरुस्तै थिएँ। कामबाट फर्केर खानपिन गरेर सजिलै निदाएकी थिएँ। बिहान ब्युँझँदा त पेट पोलिरहेको थियो। त्यसो त पहिला पहिला पनि पेट पोल्थ्यो। ग्यास्ट्रिकले दुखेको होला भन्ठानेँ। तर, त्यो पोलाइ असामान्य थियो। त्यो झन् बढ्दै आयो। तर, त्यस दिन शुक्रबार परेको थियो। मलाई लाग्यो, आज एकदिन सहन्छु। भोलि बिदा हुन्छ, आराम गरेपछि सन्चो भइहाल्ला। यस्तै सोचले म कम्पनीमा गएर दिनभरि काममै जोतिएँ।
केही दिनअघि फोनमा आमासँग गरेको कुराकानी सम्झिएँ। गाउँमा एक जना छिमेकी दाइ सुरुमा पेट पोल्दा ग्यास्ट्रिक भनेर औषधि खाँदै बसेछन्।
दुखाइ कम हुनुको साटो लगातार बढिरहेको थियो। साँझ फर्किएँ। खाना बनाएँ र थोरै खाएर चाँडै सुतेँ। राति १ बजेतिर ब्युँझिदाँ सहनै नसक्ने गरी पेट पोलिरहेको रहेछ। पसिनाले ल्याफ्फै भिजेछु।
उठेर चिसै पानी पिएँ। चिसो पानीले पनि पेटलाई शीतल पारेन।
असह्य दुखाइपछि भने वरिपरि नजिकै आकस्मिक सेवा पाइने अस्पताल छ कि भनेर गुगल गरेँ। नौ किलोमिटरको दूरीमा एउटा अस्पताल देखियो। हतार हतार लुगा फेरेँ र काकाउ ट्याक्सीबाट ट्याक्सी रिक्वेस्ट गरेँ। सात मिनेटमा ट्याक्सी आइपुग्ने भयो।
हतार हतार कपडा फेरेँ। झोलामा वालेट, पावर बैंक, चार्जर हालेर तयारी अवस्थामा बसेँ। सायद ‘इमर्जेन्सी हस्पिटल’ लेखेको देखेर होला, सात मिनेट लाग्छ भनेको ट्याक्सी पाँच मिनेटमै आइपुग्यो।
‘को बिरामी भएर यति राति अस्पताल जान लागेको?’ ट्याक्सी ड्राइभरले सोध्यो।
जवाफमा म आफैँ बिरामी भएको बताएँ। दुखाइ निरन्तर थियो। पछाडिको सिटमा पेट थिचेर बसेकी थिएँ। त्यो देखेर उसले फेरि सोध्यो, ‘धेरै गाह्रो भएको छ?’
भनेँ, ‘ठीकै छ, अस्पताल पुग्न सक्ने गरी सहन सकिन्छ।’
अस्पतालमा पेनकिलरबाट उपचार सुरु भयो। त्यसपछि एक्स-रे गरियो। डाक्टर आएर सोधपुछ गरे। खुट्टा दोब्य्राएर कम्मरको देब्रे-दाहिने दुवैतिर हल्का दबाब दिँदा दुखाइले झन् भुतुक्क भएँ। डाक्टरले भने, ‘यो त एपेन्डिसाइटिसको लक्षण हो। सीटी स्क्यान गरेर हेर्नुपर्छ।’
एपेन्डिसाइटिस भयो होला भनेर पत्यार नै लागेन। केहीबेर त अलमल्ल परेँ। रिपोर्टमा त्यही देखिएपछि भने विश्वास नगरी भएन।
केही दिनअघि फोनमा आमासँग गरेको कुराकानी सम्झिएँ। गाउँमा एक जना छिमेकी दाइ सुरुमा पेट पोल्दा ग्यास्ट्रिक भनेर औषधि खाँदै बसेछन्। तीनचार दिनपछि असाध्यै पेट पोल्न थालेपछि अस्पताल लैजाँदै गर्दा बेहोस भएका दाइ एपेन्डिक्स फुटेर बितेछन्। त्यो सम्झेर मेरो आङ सिरिंग भयो।
डाक्टरले भने, ‘अहिले भर्ना हुनू। बिहान ११ बजे अप्रेसन गर्नुपर्छ।’
घडी हेरेँ, बिहानको ४ बजेको थियो। एक्लै थिएँ। अप्रेसन गर्ने आँट आएन। मैले ‘श्रीमान्लाई लिएर आउँछु अनि अप्रेसन गराउँछु’ भनेँ। तर, डाक्टर मानेनन्। उनले भने, ‘यस्तो जटिल अवस्थामा तपाईंलाई जान दिँदैनौँ।’
त्यसमाथि शनिबार भएकाले सीमित डाक्टरहरू मात्र भएका कारण अप्रेसन गर्ने डाक्टरको समय मिलाउनुपर्ने रहेछ। मैले तत्क्षण निर्णय नगरे त्यसै दिन अप्रेसन गर्न सम्भव नरहेको जानकारी पाएँ।
द्विविधामा परेँ। यही दोमनमै ११ बजे अप्रेसन गराउन बुकिङ गरेँ। ९:३० बजेसम्म भर्ना हुन आइसक्छु भनेर निस्किन खोजेँ।
अस्पतालले अझै विश्वास गरेन। मेरो शारीरिक असहजताको कुरा बताएर नजान सल्लाह दियो। ९:३० बज्नुअघि नै आएर भर्ना हुन्छु, अहिले जान्छु भनेर धेरैपटक अनुरोध गरेँ। बल्ल उनीहरूले माने।
ट्याक्सीमा रुम फर्कंदा बिहानको ५ बजेको थियो। जीवनजी (श्रीमान्)लाई फोन गरेर यो सबै भन्न मन लागेन। कामले थाक्नुभएको होला, आराम गर्ने समयमा डिस्टर्ब नगरूँ भन्ने लाग्यो।
पेनकिलर खाएकाले होला, पेट पोल्न कम भएको थियो। मनमा कुरा खेलाउँदा खेलाउँदै निदाएछु। ७:३० को अलार्मले ब्युँझिएँ। उठे पनि जीवनजीलाई कल गरिनँ। बरु एपेन्डिसाइटिसका बारेमा गुगलमा बुझ्न थालेँ। यसको दुखाइ, असर र अप्रेसन गरिएन भने कस्तो असर गर्ला, अप्रेसनपछि कस्तो खाना खाने, कति दिन आराम गर्नुपर्छ जस्ता जानकारी पढेँ। त्यसपछि बल्ल ८ बजे जीवनजीलाई कल गरेँ। सुरुमा सामान्य कुराकानी गरेपछि मात्रै राति अस्पताल गएको र त्यहाँ भएका सारा घटनाक्रम बताएँ।
जीवनजीलाई सीधै अस्पताल आउनुस् भनेँ। आफ्नो कम्पनीका म्यानेजरलाई फोन गरेर घटनाको जानकारी गराएँ। त्यसपछि बलियो मन बनाएर अस्पताल पुगेँ।
अस्पतालमा गर्नुपर्ने हरेक प्रक्रिया पूरा गरेँ। एउटी नर्सले भनिन्, ‘९९ प्रतिशतलाई प्वाल पारेर अप्रेसन गरिन्छ। केही असहजता भयो भने मात्र पेट चिरेर अप्रेसन गर्नुपर्छ।’
उता अप्रेसन थिएटरमा छुन्बी (तयारी) गर्दै रहेछन्। अप्रेसनका लागि कपडा फेरेर गाउन लगाउन लगाए। यतिन्जेलमा जीवनजी पनि आइपुग्नुभयो। त्यसपछि मलाई ओटीमा लगे।
मेरो नाम पढेर डाक्टरले सोधे, ‘कुन देशको हो? विद्यार्थी कि कामदार?’
मैले कामदार भएको बताएँ।
‘ल ढुक्क हुनुस्। तपाईंको दुखाइ झिकेर तन्दुरुस्त बनाउँछौँ,’ डाक्टरले सान्त्वना दिँदै एनेस्थेसिया लगाइदिए। बिस्तारै बेहोस भएँ।
दुई दिनपछि अस्पतालले फलोअपका लागि बोलाएको थियो। पेटमा जलन बाँकी नै थियो। डाक्टरलाई समस्या सुनाएँ। डाक्टरले भने, ‘यो सामान्य हो। बिस्तारै सबै ठीक हुन्छ। घाउ सुकिसक्यो। अब अस्पताल धाइरहनुपर्दैन।’
मनिटरको टिट् टिट् आवाजले ब्युँझिएँ। लगभग दुई घण्टामा अप्रेसन सकेछन्। होसमा आएपछि मलाई वार्डमा सारियो।
कोरियाको विशेषता नै भनूँ, सेवाग्राहीलाई तुरुन्तै सेवा उपलब्ध गराउने। ग्राहकलाई कुनै प्रकारको असुविधा नहोस् भनेर रेस्टुराँ, बैंक, सरकारी अड्डा-अदालत, सपिङ मल, अस्पताल जताततै ससाना कुरामा ध्यान दिइन्छ। अझ अस्पतालको सवालमा कुनै मान्छे बिरामी परेर मेजर अप्रेसन गर्नुपरेमा बिरामीको ज्यानलाई पहिलो प्राथमिकता दिइन्छ। काउन्टरमा गएर पहिला पैसा डिपोजिट गर भन्दैनन्। डिस्चार्ज नगरुन्जेल बिरामीलाई चाहिने सबै औषधि अस्पतालले नै उपलब्ध गराउँछ।
शनिबार र आइतबार कोरियामा सार्वजनिक बिदा हुन्छ। जीवनजीलाई काममा जान आइतबार रूम फर्किन भनेँ। प्राय: कामको कारण व्यस्त हुने मान्छेहरू एक्लै अस्पताल पुगेर अप्रेसन गराएर फर्केको देखेकी थिएँ। मेरो असहजतामा नर्सहरूले सहायता गर्ने भएकाले जीवनजीलाई काममा फर्किन भनिरहेँ। तर, उहाँले आफ्नो साहुलाई जानकारी गराइसकेको भन्दै अस्पताल छाड्न मान्नुभएन। मेरो हेरचाहमै समय दिनुभयो।
अप्रेसन गरेको दुई दिनपछि मेरो कम्पनीका साहु आए। खाममा केही पैसा दिँदै केही दिन आराम गरेर काममा फर्किन सल्लाह दिए।
चार दिनको अस्पताल बसाइपछि म जीवनजीको रुममा गएँ।
दुई दिनपछि अस्पतालले फलोअपका लागि बोलाएको थियो। पेटमा जलन बाँकी नै थियो। डाक्टरलाई समस्या सुनाएँ। डाक्टरले भने, ‘यो सामान्य हो। बिस्तारै सबै ठीक हुन्छ। घाउ सुकिसक्यो। अब अस्पताल धाइरहनुपर्दैन।’
यति भइसक्दा पनि मैले स्वास्थ्य समस्याबारे नेपालमा घरपरिवार, साथीभाइ कसैलाई पनि बताएकी थिइनँ। घरदेशीहरूलाई तनाव नहोस् भनेर परदेशीहरू आफ्नो पीडा प्राय: सुनाउँदैनन्। यहाँसम्म कि मैले आमालाई पनि भनिनँ। अस्पतालमै हुँदा आमाको फोन आउँदा पनि ‘दिनभरि काम गरेर फर्केर रुममा आराम गरिराछु’ भनेर ढाँटेँ। पछि सन्चो भएपछि आफ्नो अनुभव बाँडे साथीभाइ सचेत होलान् भनेर फेसबुकमा भिडिओ राख्दा मात्रै आमाले आत्तिएर फोन गरेपछि मात्र साँचो कुरा बताएँ।
अस्पतालबाट फर्केपछि ज्यान यति निम्छरो भएको थियो कि लाग्यो, अब पहिला जस्तो तन्दुरुस्त कहिल्यै हुँदिनँ। दुईचार पाइला चाल्दा पनि हातखुट्टा फतक्क गल्थे। हरेस खान्नँ भन्दाभन्दै पनि आत्तिन्थेँ। छेउमा जीवनजी हुनुहुन्थ्यो। हरपल मेरो तागत बनेर मसँगै उभिरहनुभयो।
ज्यानकै मात्र सवाल थियो भने त म उनीहरूले भनेजस्तै केही समय आराम गरेर त्यही कम्पनीकै काममा फर्कन सक्थेँ। तर, त्यसबाहेक पनि अन्य केही कारण थिए, जसले गर्दा त्यही ठाउँमा काम गर्ने वातावरण थिएन।
साहुलाई दुई हप्ता आराम गरेर काममा फर्किन्छु भनेकी थिएँ। तर, ज्यानमा तागत थिएन। म्यानेजरलाई फोन गरेर अझै एक हप्ता आराम गर्छु भनेँ। म्यानेजरले ‘खासै काम छैन, बिस्तारै आए पनि हुन्छ, साहुलाई म भनिदिउँला’ भनेपछि ढुक्क भएँ।
काम त गर्नु नै थियो। कामै गर्छु भनेर नेपालदेखि आएकी थिएँ। फेरि, कोरियामा मान्छेभन्दा काम प्यारो हुन्छ। ‘कोरियामा भावुकतालाई परै राख्नुपर्छ,’ यति बुझ्न मलाई आठ वर्ष लाग्यो।
सोमबारदेखि काममा गएँ। साहु र म्यानेजरले ‘अप्रेसन गरेकी छस्, दुईतीन दिन गाह्रो काम नगर्, जोगिएर गर्’ भने। तर, मैले दिनभरि काम गरेँ। पहिलेको दाँजोमा एकदमै जोगिएर काम गरेँ। बेलुका रूममा आएर खाना बनाउँथेँ। तर, खानै मन लाग्दैनथ्यो। पाचनमा समस्या देखियो। गाह्रै भएपछि फेरि अस्पताल जानुपर्ने भयो भनेर म्यानेजरलाई खबर गरेँ। अस्पताल जाँदाजाँदै जीवनजीलाई फोनमा सबै समस्या सुनाएँ।
डाक्टरले ‘पेटमा समस्या आएको छ, अलिक दिन मासु नखानू। खिम्ची या पानीसँग मात्रै खाना खानू’ भन्दै पाँच दिनको औषधि दिए। त्यो लिएर फर्किएँ। दिनभर कम्पनीमा जोतिएको ज्यानलाई खिम्चीले मात्रै के धान्थ्यो! एक हप्तामै ५३ किलोबाट घटेर ४६ किलोमा झरेछु। जीवनमा पहिलोपटक हार खाएँ।
अन्त्यमा जीवनजीसँग सल्लाह गरेँ। उहाँकै सल्लाहमा काम छोडेर केही महिना आराम गर्ने सोच बनाएँ। कम्पनीको साहुसँग कुरा गरेँ। साहुले भने, ‘किन जान्छेस्? सक्नेजति काम गर्, अन्त नजा।’ तर, मैले काम छाड्ने निर्णय गरिसकेकी थिएँ। अक्टोबरको अन्तिम दिन काम सकेर घर फर्किने बेला साहुलाई भेटेर भनेँ, ‘म काम गर्दिनँ, बिदा दिनुस्।’
साहु धेरैबेर मौन बसे। म्यानेजरले पनि ‘अलिक समय आराम गरेर काममा फर्की, काम नछोड्’ भन्यो। तर, मैले निश्चय गरिसकेकी थिएँ। ज्यानकै मात्र सवाल थियो भने त म उनीहरूले भनेजस्तै केही समय आराम गरेर त्यही कम्पनीकै काममा फर्कन सक्थेँ। तर, त्यसबाहेक पनि अन्य केही कारण थिए, जसले गर्दा त्यही ठाउँमा काम गर्ने वातावरण थिएन। जसबारे पछि कुनै दिन विस्तारमा लेखुँली।
र, आठ वर्ष अविच्छिन्न काम गरेको कम्पनीबाट गह्रुंगो मन लिएर म सधैँका लागि बाहिरिएँ। जीवन यस्तै रहेछ। स्थिर कहीँ केही छैन। यति बुझेपछि मन हलुंगो भएको छ।
– दक्षिण कोरिया