काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएकै मिति आगामी २१ फागुनमा निर्वाचन हुनुपर्ने बताएका छन्। राजधानीमा शनिनबार आयोजित एक कार्यक्रममा उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताए।
हजारौंको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि संकटमा रहेकाले मुलुकको निकास निर्वाचनबाट मात्र सम्भव हुने उनको भनाइ थियो। पुनले अन्तर्राष्ट्रिय चलखेल र मुलुकको अस्तित्व नामेट पार्न खोज्ने प्रवृत्तिलाई निस्तेज पार्न देशलाई माया गर्ने राष्ट्रियता पक्षधर शक्तिबीच एकता र सहकार्य जरुरी रहेकामा जोड दिए। “हजारौँको बलिदानीपछि प्राप्त उपलब्धि खतरामा छ। यस्तो अवस्थामा निर्वाचनले मात्र मुलुकलाई निकास दिन सक्छ। अन्तर्राष्ट्रिय चलखेल र देशको अस्तित्व नै नामेट गर्न खोज्ने प्रवृत्तिविरुद्ध राष्ट्रिय अस्मिता, अखण्डताका पक्षधर देशभक्त शक्तिहरु एक ठाउँमा उभिनुपर्छ‚” उनले भने।
मुलुकको राजनीति अत्यन्तै अस्थिर र तरल अवस्थामा रहेको र कहाँ पुगेर स्थिरता कायम हुन्छ भन्ने अनुमान गर्न कठिन रहेको पुनले औँल्याए। “अहिले राष्ट्रिय राजनीतिमा अस्थिर‚ तरल र अनिश्चियजस्तो वातावरण छ। कहाँ पुगेर स्थिरता प्राप्त गर्छ भन्न नसकिने अवस्था छ‚” उनले भने। उनले राजनीतिसँगै अर्थतन्त्रमा पनि समस्या चुलिएको बताए। ०७२ को महाभूकम्प र कोभिड-१९ महामारीबाट प्रभावित अर्थतन्त्र तङ्ग्रिन खोज्दै गर्दा २३ र २४ भदौको जेन-जी आन्दोलनपछि फेरि सुस्ततामा गएको उल्लेख गरे।